रुकुममा थप समस्याः यातायात व्यवसायीको आन्दोलनमाथि व्यापारीको हड्ताल

94
Shares

महोत्सवमा स्थानीय व्यापारीलाई स्टल राख्न नदिएको भन्दै बजार बन्द

धनवीर दाहाल, रुकुम ।

आगामी बैसाख २७ गतेदेखी जेठ ७ गते सम्म रुकुम पश्चिमको मुसिकोटमा हुन लागेको रुकुम पर्यटन तथा साँस्कृतिक महोत्सव–२०७५ मा स्थानीय व्यापारीलाई स्टल राख्न नदिइ बाहिरै बाट आएका व्यापारीलाई स्टल राख्न दिएको भन्दै रुकुम उद्योग बाणिज्य संघले शुक्रबार मुसिकोट बजार बन्द गरेको छ ।

सरकारले गरेको यातायातको सिन्डीकेट खारेजको बिरुद्धमा यातायात व्यवसायीले यातायात बन्द गरेर यात्रुहरु अलपत्र परिरहेको अवस्थामा महोत्सवको बिरुद्धमा उद्योग बाणिज्य संघले बजार बन्द गर्दा रुकुममा थप समस्या भएको छ ।

बाहिरबाट आएर स्टल राखी स्थानीय व्यापारमा असर पार्न खोजेको भन्दै बाणिज्य संघले खलंगा बजार बन्द गरेको हो । रुकुम यातायात प्रालि, युवा सञ्जाल रुकुम र ग्राण्डी ईन्टरनेशनल होलिडेज प्रालिको संयुक्त आयोजनामा महोत्सवको आयोजना गर्न लागिएको हो ।

वैशाख २१ गतेदेखि सुरु गरिने भनिएको महोत्सव तयारी नपुगेका कारण एक हप्ता सारिएको आयोजक समितिका संयोजक केशव रावलले जानकारी दिए । रुकुम उद्योग बाणिज्य संघले व्यवसायिक महोत्सव अरुले गर्न नपाउने बताउँदै आएको छ । उनीहरुले मुसीकोट नगरपालिकामा ज्ञापन पत्र समेत बुझाएका छन् ।

बाणिज्य संघका अध्यक्ष टेकहादुर पुनले उद्योग बाणिज्य संघसँग सल्लाह र परामर्श नै नगरी साँस्कृतिक तथा पर्यटन महोत्सवको नाम दिएर व्यवसायिक महोत्सव गर्न खोजेकोले सोको बिरोधमा बन्द गरिएको बताए ।

उता आयोजक समितिका संयोजक रावलले उद्योग बाणिज्य संघले महोत्सवमा राखिने स्टलको विरोध गर्नु सरासर सिण्डिकेट भएको आरोप लगाएका छन् । उनले महोत्सव गरेरै छाड्ने दावी गरे ।

Skip This