नेपालको होचो स्थान कचनकवल जोगाउन तटबन्धन



नेपाल समाचारपत्र, भद्रपुर ।

भारतले बनाएको सडकसहितको अग्लो तटबन्धनका कारण बर्षेनी डुबानमा पर्दै आएको झापाको एक गाँउपालिकामा तटबन्धन निर्माण सुरु गरिएको छ ।

भारतको विहार राज्य किशनगञ्ज जिल्ला सीमावर्ती नाकासंग जोडिएको झापाको दक्षिणी क्षेत्र कचनकवल गाउँपालिकामा तटबन्धन सुरु गरिएको हो ।

मेची नदी र देउनिया खोलाको चपेटामा पर्दै आएको सो गाँउपालिकालाई बाढीवाट बचाउन कचनकवल गाँउपालिकाले तटबन्धन निर्माण कार्यलाई तिब्रता दिएको पाइएको छ । साविक केचना गाविस ७ र ८ हाल कचनकवल गाँउपालिका ४ स्थित बयरबारीका करिब दूई सयबढी घरपरिवार डुबानमा पर्दै आएको तटबन्धन निर्माण समितिका अध्यक्ष कौशार आलामले जानकारी दिए ।

बर्खाको समयमा पानीको चाप बढेसँगै मेची र देउनियाको पानी भारतले लगाएको तटबन्धनका कारण भूमि तर्फ जान नपाउँदा विगत तीन बर्षदेखि कचनकवल गाँउपालिका डुबानमा पर्दै आएको उनको भनाइ छ ।

मेची नदीमा बाढी आएपछि पाठमारी क्षेत्रबाट आएर बयरबारी बस्तीसंग बग्ने देउनिया खोलामा प्रवेश गर्ने र दुवै खोलाको बाढीले गाउँ घर डुबान पार्दै आएको उनले बताए । गतबर्ष देउनिया खोलामा लगाइएको माटोको तटबन्धन दुई ठाँउमा भत्काएर गाँउमा बाढी प्रवेश गरेपछि पूरै गाउँ जलमग्न भएको उनले जानकारी गराए । यसबर्ष कचनकवल गाउँपालिकाले छुटाएको बजेटबाट माटो अग्लो तटबन्धन निर्माण गरेको उनि बताउँछन् ।

बाढीबाट घरपरिवार जोगाउन यो क्षेत्रमा माटोको तटबन्धन निर्माणका लागि ७ लाख रुपैया बजेट निकासा गरेको कचनकवल गाँउपालिका अध्यक्ष अञ्जार आलामले जानकारी दिए । ७ सय मिटर लम्बाइ रहेको तटबन्धनलाई देउनिया खोला वरिपरि घेरेर बनाएको उनको भनाइ छ । मेची नदीको ओभर फलो पानी देउनिया खोलामा आउने गरेकोले यस तटबन्धनले बस्तीलाई बाढीबाट जोगाउने आफू विश्वस्त रहेको उनले बताए ।

त्यसैगरी देउनिया खोलामा मेची नदीको बाढी आउन नदिनलाई पाठामारी र भैसाबाडीमा ढुंगाको तटबन्धन कार्य धमाधम निर्माण भइरहेको झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङदेनले बताए । सो क्षेत्रमा तटबन्धन निर्माण भएपछि नेपालकै होचो स्थान कचनकचव डुबानको चपेटाबाट मुक्त हुने लिङदेनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्