‘स्कुल जान त मन छ तर कापी कलम छैन’



धनवीर दाहाल, रुकुम ।
बाँफिकोट गाँउपालिका १० झुला ठाँटीका बर्ष १० का गोपाल खड्का आफ्ना साथीहरु बार्षिक परिक्षा सकेर बिद्यालयबाट घर फर्किरहेको देख्दा आफु पनि साथीहरुजस्तै कहिले हुन सकुला ? भनेर आफैलाई प्रश्न गरेर बसिरहेका हुन्छन् ।

म कहिले साथीको जस्तै स्कुल ड्रेस लगाएर पढ्न पाउँला कि नपाउँला भनेर छिमेकीहरुलाई उनले प्रश्न गरिरहने गरेको स्थानीय बिपना बुढाले बताइन् । बिपनाका अनुसार साथीहरु स्कुल जाँदा र स्कुलबाट फर्कँदा सँधै गोपाल र उनका भाई पुर्णबहादुर टोलाएर बसिरहेका हुन्छन् । अत्यन्तै गरिव परिवारका गोपाल र पुर्णबहादुरका बुवा चंखलाल खड्काले मजदुरी गरेर आफुलाई र बच्चाबच्चीलाई पाल्न सकेन भनेर चंखलालकी श्रीमति अर्कैसँग बिहे गरिन ।

जसका कारण यतिबेला १० बर्षका गोपाल र ८ बर्षका पुर्णबहादुर बिचल्लीमा छन् । बुवाले दिनभर ज्याला मजदुरी गरेर कमाएको पैंसाले एक छाक टार्न धौ धौ हुने गरेको उनीहरुको पिडा छ । गोपाल भन्छन् “बुवाले दिनभर गरेको कामले खान सम्म पुग्दैन । कहिले काँही हामी दुई भाई पनि काम गर्छौं ।” उनले भने “पढ्न मन छ कापी कलम र स्कुल ड्रेस किन्ने पैंसा छैन” ।

घरमा जग्गा जमिन पनि केही नभएको र चंखलाल उमेर पनि पटक पटक बिरामी हुने गर्नाले धेरै दैनिक रुपमा मजदुरी गर्ने सक्ने अवस्था समेत नभएको स्थानीयको भनाई छ । कापी कलम सम्म किन्ने पैंसा नभए पछि ति बच्चाहरुको पढाई बिग्रिएको छ । पढ्न त के राम्रोसँग खान समेत उनीहरुले पाएका छैनन् । बिरामी पर्दा समेत उपचार गर्न सक्ने अवस्था उनीहरुमा छैन ।
बालवालिकाको क्षेत्रमा काम गर्ने धेरै निकाय जिल्लामा छन् । जिल्ला शिक्षा कार्यालय तथा गाँउपालिका स्तरमा गाँउपालिका शिक्षा इकाई भनेर पनि काम गरिरहेको पाइन्छ ।

तर शिक्षाबाट बन्चीत यि बच्चा जस्ता धेरै वाललालिका अझै पनि गाँउ स्तरमा भेटिन्छन् । उनीहरुको समस्यालाई गाँउपालिकाले समेत चासो नदिएको स्थानीयको गुनासो छ । उनीहरुको दयनिय अवस्था भएकोले वालवालिकासँग काम गर्ने सरोकारवाला निकायले पहल गर्नुपर्नेमा स्थानीयको जोड छ ।

प्रतिक्रिया दिनुहोस्