‘पर्याप्त स्रोतसाधन नहुँदा प्रहरीभित्र विकृति’



नेपाल समाचारपत्र
हेटौंडा
देश–३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले प्रहरी संगठनलाई आत्मनिर्भर बनाइने बताउनुभएको छ। ‘पर्याप्त स्रोतसाधन नहुँदा पनि प्रहरीभित्र विकृति बढेको मैले देखें,’ उहाँले भन्नुभयो–प्रहरीभित्रको विकृति अन्त्य भएमात्र समाजमा हुने विकृति अन्त्य हुन्छ। प्रदेशमा सुशासन र भ्रष्टाचार नियन्त्रणको काम प्रहरी संगठनबाट गरिने उहाँको प्रतिवद्धता छ।

सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरको आयोजनामा शनिबार हेटौंडाको सान्नानीटारस्थित तपोवनमा भएको लागुऔषध एवम् कानुनी प्रावधान सम्बन्धि अनुशिक्षणमा मन्त्री जम्कट्टेलले त्यसका लागि प्रदेश सरकारले गृहकार्य गरिरहेको बताउनुभयो।

प्रदेशका केही जिल्ला लागुऔषध उत्पादनका कारण बदनाम बन्दै गएको भन्दै किसानलाई बैकल्पिक खेतीतर्फ आकर्षित गरिनुपर्ने उहाँले बताउनुभयो। ‘बजार र उत्पादनमा सरकारले सहयोग गर्छ,’ उहाँले भन्नुभयो–अब जनताले गाँजा रोप्न छाडेर तरकारी रोप्न शुरू गर्नुपर्छ। भ्यालेन्टाइन दिवसको दिन अर्बौं रुपियाँको गुलाब छिमेकी देशबाट भित्रने गरेको भन्दै उहाँले परनिर्भरता रहेसम्म देशको समृद्धि नारामै सीमित हुने बताउनुभयो।

मन्त्री जम्कट्टेलले सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माण प्रदेश सरकारको लक्ष्य भएको बताउनुभयो। केन्द्र सरकार र दाताको भरपर्ने भन्दा पनि प्रदेश आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेको उहाँको भनाइ छ।

संस्था अध्यक्ष राम बिष्टको सभाध्यक्षतामा भएको कार्यक्रमा संस्था सल्लाहकार केशव गौतमले लागुऔषध उत्पादन र दुब्र्यसनी तथा कानुनी प्रावधानका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, मकवानपुर प्रहरी प्रमुख एसपी विकासराज खनाल, सामुदायिक सेवा केन्द्र मकवानपुर निवर्तमान अध्यक्ष कुमार पौडेल, संस्थाका उपाध्यक्ष बिनोद लामिछानेलगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्