संघीय संसद्को पहिलो बैठक आज, प्रतिनिधिसभाका चार सांसदले शपथ लिएनन्



गंगा बराल, काठमाडौं
संघीय संसद्को पहिलो बैठक संसद् भवन नयाँ बानेश्वरमा आज सोमबार बस्दै छ। संसद् सचिवालयले सूचना जारी गरी आजका लागि बैठक बोलाएको हो। संघीय संसद्का सदस्यको आइतबार शपथ भएको छ।

संसद् भवनमा प्रतिनिधिसभाका सदस्यलाई जेष्ठ सदस्य राजपा नेता महन्थ ठाकुरले र राष्ट्रियसभाका सदस्यलाई जेष्ठ सदस्य तारादेवी भट्टले शपथ गराउनुभएको थियो। शपथग्रहणपछि सांसदहरूले प्रतिनिधिसभा र राष्ट्रियसभाको लोगो लगाएका थिए। प्रतिनिधिसभामा महेन्द्र राय यादव, टोपबहादुर रायमाझी, धर्मशिला चापागाईं र रेशम चौधरीले शपथ लिएको देखिएन। यादव नागरिकताका आधारमा जेष्ठ सदस्य भए पनि उहाँले शपथ लिनुभएन। ठाकुर ७५ वर्षका हुनुहुन्छ।
यस्तै राष्ट्रियसभामा राष्ट्रियसभाका सदस्य रमेश यादव उपस्थित हुनुभएन। दुवै सदनको बैठकको सञ्चालन संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले गर्नुभएको थियो। प्रतिनिधिसभामा १० र राष्ट्रियसभामा २ भाषामा सांसदले शपथ लिएका थिए।
सरकारद्वारा सिफारिस गरिएको र राष्ट्रपतिले अनुमोदन गरेका ३ जना सदस्यविरुद्ध सर्वोच्च अदालतमा रिट परेकाले अर्थमन्त्री डा. युवराज खतिवडा, डा. विमला राई पौडेल र रामनारायण विडारीले पनि शपथ लिनुभएन। संविधानको धारा ८८ मा संसद् वा समितिको बैठकमा भाग लिनुअघि शपथ लिनुपर्ने व्यवस्था छ।
प्रतिनिधिसभाका २ सय ७५ सदस्यमध्ये नेकपा एमालेका १ सय २१, नेपाली कांग्रेसका ६३, नेकपा माओवादी केन्द्रका ५३, संघीय समाजवादी फोरम नेपालका १७, राष्ट्रिय जनता पार्टीका १६ सांसद् रहेका छन्।
यी ५ दलले राष्ट्रिय मान्यता पाएका छन्। राष्ट्रिय मान्यता नपाएर प्रत्यक्षतर्फ निर्वाचन जित्नेहरूमा नयाँ शक्ति नेपालका डा. बाबुराम भट्टराई, राप्रपाका राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र स्वतन्त्र सांसद छक्कबहादुर लामा रहनुभएको छ।
संसद्को पहिलो बैठक आज सोमबार ४ बजे बोलाइएको छ। संघीय संसद्मा ३ सय ३४ सदस्य रहेका छन्। आज बस्ने संसद् बैठकमा राष्ट्रपतिबाट प्राप्त बैठक आह्वानसम्बन्धी र मन्त्रिपरिषद् विस्तार सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, संसद् बैठक सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि प्रस्तुत गर्ने, जेष्ठ सदस्यको अनुपस्थितिमा बैठक सञ्चालनका लागि सदस्यहरूको नाम टु·ो लगाउने र सभामुखको निर्वाचनको मिति तोक्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।
सचिवालयले आइतबार बोलाएको सर्वदलीय बैठकमा अबको तयारीका बारेमा छलफल भएको प्रतिनिधिसभाका सांसद डा. डिला संग्रौलाले बताउनुभयो।
बैठकको सम्भावित कार्यसूची
१. राष्ट्रपतिबाट प्राप्त बैठक आह्वानसम्बन्धी पत्र पढेर सुनाउने
२. राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने
३. संसद् बैठक सञ्चालनका लागि तयार पारिएको अन्तरिम कार्यविधि पारित गर्न प्रस्तुत गरिने
४. जेष्ठ सदस्यको अनुपस्थितिमा बैठक सञ्चालनका लागि सदस्यहरूको नाम टु·ो लगाउने
५. सभामुखको निर्वाचनको मिति तोक्ने

प्रतिक्रिया दिनुहोस्