शान्त, समृद्ध र विकसित प्रदेश बनाउन सबैको सहयोग अवाश्यक: मुख्यमन्त्री पौडेल



नेपाल समाचारपत्र, हेटौँडा ।

३ नम्बर प्रदेशको राजधानी हेटौंडामा प्रजातन्त्र दिवस मनाइएको छ । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शान्त, समृद्ध एवम् विकसित प्रदेश निर्माणका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभएको थियो ।

राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति प्रदेश नम्बर–३ को आयोजनामा सोमबार हेटौंडामा आयोजित कार्यक्रममा उहाँले प्रदेशमा शान्ति र समृद्धि ल्याउन सबै वर्ग, जाति र समुदायको सक्दो सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

सरकार संविधान, विधि र कानुनमा टेकेरमात्र अगाडि बढ्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो । प्रदेश, नेपालको संविधानमा उल्लेख भएअनुसार संघ, प्रदेश र स्थानीय सरकारका काम/कारबाहीहरु सहकारिता र समन्वयका आधारमा अगाडि बढ्ने पौडेलले स्पष्ट पार्नुभयो ।
हाल मुलुकमा तीनै तहको निर्वाचन भइसकेको सन्दर्भमा सबैले आफ्ना काम, कर्तब्य र अधिकारअनुसार काम गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो– संघीय संरचनाअनुसार मुलुकमा तीनै तहको निर्वाचन भइसकेका छन् । संघीय शासन प्रणालीमा उच्चस्तरको आचरण, ब्यवहार र कार्यशैली संघीय शासन प्रणालीअनुरुप विकास गर्नु हामी सबैको कर्तब्य हो ।

राष्ट्रिय प्रजातन्त्र दिवसले यही मार्ग निर्देशनअनुरुप डो¥याउन सफलता मिलोस् भन्ने शुभकामना ब्यक्त गर्दछु । धेरै आन्दोलनपछि मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेको उहाँको भनाइ छ ।

संघीय संरचनाअनुरुप तीनै तहका सरकारहरु जनताबाट निर्वाचित भएर गठन भइसकेका अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले ३ नम्बर प्रदेश सरकार संविधान विधि एवम् पद्धतिप्रति पूर्ण निष्ठापूर्वक प्रदेशको विकास एवम् समृद्धिमा निरन्तर प्रयत्नशील रहने विश्वास दिलाउनुभयो । प्रदेशको शान्ति, समृद्धि, समुन्नति एवम् विकासमा सबै वर्ग क्षेत्र समुदायको सक्रिय एवम् मूल्यवान सहभगिताको आशा गरिएको पौडेलले उल्लेख गर्नुभयो ।

कार्यक्रमअघि हेटौंडाको बुद्धचोकबाट निकालिएको ¥याली स्कुलरोड, कान्तिराजपथ, संगमचोक, मानसचोक हुँदै सिद्धार्थ माविको प्रांगणमा सभामा परिणत भएको थियो । कार्यक्रममा धामी झाँक्रीको झाँकी, खैंजडी भजन, थारु नाच, नेपाल स्काउट, नेवारी नाचलगायत प्रस्तुत गरिएको थियो ।

प्रदेशस्तरको कार्यक्रममा प्रदेश सभामुख सानु श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकटेल, भौतिक योजना तथा विकास मन्त्री केशव स्थापित, हेटांैडा उपमहानगर मेयर हरिबहादुर महत, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, नगर वडा अध्यक्षहरु, प्रशासनका उच्च तहका कर्मचारी, सुरक्षा निकायका प्रमुख, टोल विकास संस्थाका प्रतिनिधि, विद्यार्थीहरु, विभिन्न जातजातिका समुदायका प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्