‘मदिरा र धार्मिक मान्यता’



भगवती तिमिल्सिना, काठमाडौं
व्यक्ति परिवार र समाजले मदिरासेवनलाई स्वीकार्दै आएको पाइन्छ। मदिराको सेवनको कारण यसको उत्पादन पनि धेरैनै भइरहेको पाइन्छ। के शिक्षित के अशिक्षित के गरीब के धनी मदिरा सेवनको कुलतमा फसेपछि यसले अनेकौं विकृति र विसंगति पैदा गर्नेगरेको पाइन्छ।

कसैले मदिरा सेवनलाई निजी व्यक्तिगत शिक्षा चेतनासँग जोडेर हेर्ने गरेका छन् भने कतिले यसलाई जातीय तथा धार्मिक मान्यतासँग जोडने गरेको पाइन्छ। जुनसुकै बहानामा मदिरा सेवन गर्ने गरिए तापनि यसको दुरूपयोग र स्वेच्छाचारिताले समस्या खडा गर्ने गरेको छ।

यसै विषयमाथि सिविनले बुधबार धार्मिक गुरुहरू, राजनैतिक दलका नेता, सामाजिक क्षेत्रका जिम्मेवार व्यक्ति, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, सञ्चारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलगायतका बीच एक बृहत छलफलको आयोजना गरेको थियो।

कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्री तथा सांसद गगनकुमार थापाले, ‘कुनै पनि धर्ममा मदिरा सेवनलाई प्राथमिकता दिइएको छैन र पछिल्लो समय मदिरा सेवन युवा, महिला तथा बालबालिकाहरूमा समेत बिकराल भएको अवस्थामा आयोजित यो कार्यक्रम अर्थपूर्ण छ’ –भन्नुभयो।

उहाँले नेपालजस्ता अल्पविकसित मुलुकमा सर्ने भन्दा नसर्ने रोगको प्रकोप अत्यधिक मात्रामा बढेर जानुको प्रमुख कारण मदिरा सेवन तथा सूर्तिजन्य पदार्थको सेवन नै प्रमुख हो। यसको नियन्त्रण गरेर जनतालाई स्वस्थ बनाउने पक्षमा नेपालको अर्थ मन्त्रालय देखिँदैन। जनता स्वस्थ भएर कार्यक्षेत्रमा खटि गर्न सक्ने आम्दानीको तुलना गर्नुभन्दा तत्काल प्राप्त राजश्वलाई गणना गर्दै नीति तथा ऐन ल्याउने कार्यमै रोक लगाउन अग्रसर हुँदै गएको छ थापाले भन्नुभयो।

नेपालमा मदिरा र धुमपानबाट आउने आम्दानीभन्दा जनस्वास्थ्यमा परेको असर र उपचारका लागि हुने खर्च हजारौ गुणा माथि भएको कुरा पूर्वमन्त्री थापाले जानकारी गराउनुभयो। सूर्ति नीति नेपालमा ल्याउन पनि अर्थ मन्त्रालयले रोक लगाउन खोजी रहेको अवस्थामा ३० प्रतिशत बट्टाको र्यापिङको प्रस्ताव उठान गरि स्वीकृति लिएर संसदमा पुग्दा ९० प्रतिशत पारित भई हाल कानूनी रूपमै कार्यान्वयनको चरणमा रहेको छ भन्नुभयो। स्वास्थ्य बीमा, हालै प्रस्तावित मदिरा नीतिलगायतका विषयमा पनि अर्थ मन्त्रालय तगारो बन्दै जनस्वास्थ्यमाथि खेलबाड गरिरहेको छ थापाले भन्नुभयो।

कार्यक्रममा हिन्दूधर्मका ज्ञाता दामोदर गौतमले हिन्दूधर्ममा मदिरा सेवन गर्नुहुन्न यसलाई छुनुसम्म पनि पाप हो भनिएको छ भन्नुभयो। त्यसै गरी बाइबलमा पनि मदिरा र धुमपानलाई प्रतिबन्ध गरिएको कुरा ईशुजंग कार्कीले बताउनुभयो। त्यस्तै इस्लाम धर्मको कुरानमा पनि मदिरालाई फोहोरको संज्ञा दिइएको कुरा इस्लाम धर्मगुरु गुलाम मुस्तफा नुरीले जानकारी कार्यक्रममा कार्यपत्र नै प्रस्तुत गरेर जानकारी गराउनुभयो। साथै बुद्धधर्म गुरु भिक्षु धर्ममूर्तिले सुरापान र मध्यपानबाट अलग रहने कुरा बुद्ध धर्ममा औंल्याइएको कुरा बताउनुभयो।

कार्यक्रममा नेपाल मदिरा नीति सञ्जालका संस्थापक शान्तलाल मूल्मीले मदिरा सेवनका कारण हुने आर्थिक, सामाजिक, धार्मिक क्षतिले मानव स्वास्थ्यमा नराम्रो असर पारेकाले मदिरा नीति तत्काल पारित गरी कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख गर्दै कार्यपत्र नै प्रस्तुत गर्नुभयो।
यता स्वास्थ्य मन्त्रालयका प्रतिनिधि स्वास्थय शिक्षा सूचना तथा सञ्चार केन्द्रका तर्फबाट कुञ्जप्रसाद जोशीले बोल्दै मदिरा र सूर्तिबाट १६ अर्ब कर उठ्छ सरकार र स्वयम जनताले नसर्ने रोगका लागि गर्नुपरेको खर्चको हिसाब गर्ने हो भने ३ गुणा बढी रहेको छ। ‘यदि यो नियन्त्रण नगर्ने हो भने अबका केही वर्षमा नै उपचार खर्च धान्ने नसक्ने अवस्थामा पुग्ने निश्चित छ’ –भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्