समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक



सुनील महर्जन, काठमाडौं
निर्वाचन आयोगले समानुपातिकतर्फको निर्वाचित सदस्यहरूको सूचीसहित प्रतिनिधिसभा सदस्यको नामावली राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुधबार बुझाएको छ।

समानुपातिक उम्मेदवारको अन्तिम परिणाम सार्वजनिक गरेलगत्तै आयोगले प्रतिनिधिसभा सदस्यको नामावली राष्ट्रपति भण्डारीसमक्ष बुझाएको थियो।

नामावली बुझाउन प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवसहित आयुक्तहरूको टोली हिजो राति ८ बजे शीतलनिवासमा पुगेको थियो। आयोगले निर्वाचन भएको साढे दुई महिनापछि समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गरेको हो। दलहरूले पठाएको नामावली जाँच गरी परिणाम सार्वजनिक गरिएको थियो।

यसअघि समानुपातिक निर्वाचनको परिणाम नआएको कारण मंसिर १० र २१ गतेको प्रतिनिधिसभाको निर्वाचनको मतपरिणामअनुरूप संसद्को पहिलो बैठक र सरकार गठनमा ढिलाइ भइरहेको थियो। ‘लोकतान्त्रिक पद्धतिअनुरूप जनताले दिएको नयाँ संसद् र नयाँ सरकार गठन गर्ने बाटो खुलेको छ।’ –प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

यसअघि तीनवटा दलहरूले प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवारको सूची सच्याएर निर्वाचन आयोगमा बुझाएका थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीले उम्मेदवारको सूची सच्याएर बुझाएका हुन्। आयोगले उम्मेदवारको सूची सच्याएर ल्याउन दलहरूलाई बुधबारसम्मको समय दिएको थियो।

यसअघि बुझाएको उम्मेदवारको सूची समावेशी समूहको प्राथमिकता क्रम र उम्मेदवारको बन्दसूचीको क्रमअनुरूप नमिलेपछि आयोगले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीलाई उम्मेदवारको सूची सच्याउन सोमबार पत्राचार गरेको थियो। कांग्रेसले सोमबार पिछडिएका क्षेत्रबाट सिफारिस गरेका मोहनप्रसाद पाण्डेको नाम हटाई रामबहादुर विष्टको नाम राखेको छ भने दीपशिखा शर्माको नाम हटाई रंगमती शाहीको नाम राखेर उम्मेदवारको सूची बुझाएको छ। यसअघि बुझाएको उम्मेदवारको बन्द सूचीमा पाण्डे र शर्मा दुवै खसआर्य कोटामा राखिएको थियो।

त्यसै गरी माओवादीलाई पिछडिएको क्षेत्रबाट एक जनाको प्रतिनिधित्व गराउन, खसआर्यबाट ५ जनाको नाम बुझाउनुपर्नेमा ६ जनाको नाम बुझाइएकाले एकजना घटाउन र मधेसी समुदायबाट ३ जनाको नाम हुनुपर्नेमा २ जनाको मात्रै नाम रहेकाले एक जना थप्न आयोगले भनेको थियो। सोहीअनुरूप सच्याएर ल्याएको आयोगका प्रवक्ता नवराज ढकालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

राजपाले खसआर्यबाट क्रम संख्यामा एक नम्बरमा रहेका नरमाया ढकालको नाम सिफारिस गरेर आयोगमा बुझाएको छ। सो पार्टीलाई खस आर्यबाट दुई जना महिलाको नाम पठाउनुपर्नेमा प्राथमिकताको क्रम नमिलेकाले सच्याएर पठाउन भनेको थियो। सो दलको बन्द सूचीमा खस आर्य समूहको एक नम्बरमा नरमाया ढकालको नाम भए पनि राजपाले सोमबार बुझाएको सूचीमा ढकालको नाम हटाएर दोस्रो र तेस्रो नम्बरमा रहेका व्यक्तिहरूको नाम राखेको थियो।

प्रतिक्रिया दिनुहोस्