भूकम्पपछि सम्पदा पुनर्निर्माण अभियान: डेढ सय ध्वस्त, बल्ल बने पाँच

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।
झण्डै ३ वर्षअघि गएको शक्तिशाली भूकम्पमा महानगरपालिका क्षेत्रका झण्डै डेढ सय सम्पदा ध्वस्त भएका थिए। ती सम्पदामध्ये अहिलेसम्म पाँच वटाको मात्रै पुनर्निर्माण भएको छ।

महानगरपालिकाको स्वामित्व रहेको ती सम्पदा पुनर्निर्माण कछुवा गतिमा अघि बढिरहेको छ। किन यस्तो ? भन्ने प्रश्नमा कामपा सम्पदा विभागकी प्रमुख अर्चना श्रेष्ठ भन्नुहन्छ– ‘काम भइरहेको छ केही आन्तरिक कारणले ढिलो भएको हो।’ उहाँ चाँडै सम्पदा पुनर्निर्माणको काम अघि बढ्ने दाबी गर्नुहुन्छ। ३ वर्षभित्र तस्वाः देग, गाहिटी ढुंगेधारा, अशोक चैत्य, सिन्चु खलः र टेवहालको ध्यो छेः मात्रै पुनर्निर्माण भएको छ।

अन्य सम्पदा निर्माणको काम धमाधम शुरु भइरहेको जनाउँदै कामपाले चालू आवमा ४० वटा सम्पदाको पुनर्निर्माण भइरहेको जनाएको छ। हाल शुरु गरेको सम्पदा पुनर्निर्माण हुन करिब डेढ वर्ष लाग्ने भएको छ।

विभाग प्रमख श्रेष्ठले भूकम्पले ध्वस्त र क्षतिग्रस्त भएका अधिकांश सम्पदाको ड्रइङ र डिजाइन भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘वडाको सहयोगमा काम भइरहेको छ, चालू आवमा थप एक दर्जनभन्दा बढी सम्पदाको पुनर्निर्माण थाल्ने छौं।’ कामपाअन्तर्गत सम्पदा पुनर्निर्माण गर्न करिब ५५ करोड रुपियाँ विनियोजन गरिएको छ।

सोबाहेक आकस्मिकरूपमा काम गर्न फन्डसमेत खडा गरिएको महानगरपालिकाले जनाएको छ। उहाँले बजेट भए पनि कार्यान्वयन गर्न समस्या रहेको दाबी गर्नुभयो। सम्पदा पुनर्निर्माण गर्न पुरातत्त्व विभागले कामपाले तयार गरेको ड्रइङ र डिजाइन स्वीकृत गर्नुपर्छ। कामपाले आफ्नो क्षेत्रका सम्पदाको पुनर्निर्माण गरे पनि हनुमानढोका क्षेत्रभित्र रहेका सम्पदाको पुनर्निर्माण हनुमानढोका दरबार क्षेत्र विकास समितिले गर्दै आएको छ। हनुमानढोका दरबार क्षेत्रमा करिब दुई दर्जनभन्दा बढी सम्पदाको पुनर्निर्माण भइरहेको छ। अधिकांश सम्पदा विदेशी दातृ निकायको सहयोगमा पुनर्निर्माण भइरहेको छ।

कामपाले हनुमानढोका दरबार क्षेत्रबाहेक अन्य वडामा रहेको सम्पदाको पुनर्निर्माण गर्नेछ। हामीले पुरातत्त्वको प्राविधिक सल्लाहमा सम्पदा पुनर्निर्माण गर्ने काम थालेका छौं, तोकिएकै समयमा सम्पदाहरू पुनर्निर्माण हुनेछन्। कामपाले काष्ठमण्डपको पुनर्निर्माण कार्यको थालनी गर्न गृहकार्य शुरु भइरहेको जनाएको छ। कामपाले दशअवतार मन्दिर पुनर्निर्माण गर्न ठेक्का दिइसकेको छ।

आफ्नो स्वमित्वमा रहेका ठूला सम्पदाहरूको पुनर्निर्माण गर्न स्थानीय र सरोकारवालासँग छलफल गरिरहेको जानकारी गराउँदै विभागका प्रमुख श्रेष्ठले चर्चित काष्ठमण्डपको पुनर्निर्माण गर्ने विषयमा अन्तिम छलफल भइरहेको जानकारी दिनुभयो।

पुनर्निर्माणको पर्खाइमा रहेका काठमाडौंका अधिकांश सम्पदा पुनर्निर्माण गर्न वडास्तरबाट समेत दबाब आइरहेको छ। पुनर्निर्माण हुन नसकेका सम्पदाहरू टेकोले अड्याइएको छ।