दुर्गममा बिरामीको ज्यान बचाउनै मुस्किल



धनवीर दाहाल, रुकुम पुर्व ।

रुकुम पूर्वको अति बिकट बस्ती मैकोट योमाखार कि ३१ बर्षिया लोबै बुढा मगरले अस्पतालको अभावमा उपचार गर्नै नपाई ज्यान गुमाउनु पर्यो । सामान्य बिरामी भएका बुढालाई स्थानीयहरु सुरुमा धामी झांक्री र झारफुक गर्न तिर लागे । निको नभएपछि गाँउमा कुनै पनि स्वास्थ्य संस्था नभएकोले स्थानीयहरु जमघट भएर उनलाई रुकुम पश्चिमको जिल्ला अस्पताल पर्याउनका लागि स्टेचरको सहायताबाट रुकुमकोट सम्म पुर्याइयो ।
रुकुममा उपचार संभव नभएपछि काठमाडौँ पुर्याउँदा पनि उनलाई बचाउन नसक्दा यतिबेला उनको परिवारमा पिडा नै पिडा उत्पन्न भएको छ । यो एउटा प्रतिनिधिमुलक घटना मात्र हो । रुकुम पूर्वका बिकट गाँउमा स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गराउनुपर्छ भन्ने चेतनाको अभाव अहिले पनि रहेको छ ।

मानिस बिरामी हुन बित्तिकै धामी झांक्री गर्ने चलन कायमै छ । यातायातको सुविधा नहुनु र गाँउमा स्वास्थ्य संस्था नहुनेले पिडा खेप्नु परेको स्थानीय मैत्या घर्तीमगरले बताए । मैकोटकी स्थानीय कुसुम थापाले पनि उपचार गर्न स्टेचरमा लैजाँदै गर्दा आफ्नो देउरानी गुमाएको बताइन् । उनले रन्मा तथा मैकोटमा दुर्गमताको कारण अकालमा धेरैले ज्यान गुमाएको बताइन् ।

हिमाली जिल्ला रुकुम पुर्वको खामभाषी मगर बस्ती बिकट पहाडै पहाडले घेरिएको छ । यहाँ आउने जो कोहि पनि अशिक्षा,रोग र भोक तथा बिकाशको नाममा शुन्य पुर्वाधार देखेर आँखा रसाएर फर्किने गरेको घर्ती बताउँछन् । कष्टकर जिवन शैली बिताई रहेका समुदायलाई अलिअलि ज्वरो आएमा धामी झाँक्रीकोमा पुग्ने परम्परा कायमै छ ।

दुर्गमताको कारण अझै पनि बिरामीको ज्यान बचाउन बोकेरै अस्पतालसम्म लैजानुपर्ने रुकुम पूर्वको अति बिकट बस्तिको यस्तो मार्मिक अवस्था ।

स्थानीयहरु घाउ तथा चोटपटक एवं सामान्य ज्वरो धामीझाँक्रीबाट नभएमा मात्र नजिकको स्वास्थ्य संस्थामा बिरामीलाई लिने गर्दछन् । रुकुम पश्चिमको जिल्ला अस्पताल एक दिन भरि हिँडेर एक दिनको जिप यात्रा पछि मुसिकोटमा रहेको सल्ले अस्पतालमा पुगिन्छ ।

रुकुम पुर्वमा अझै जिल्ला अस्पताल स्थापनाको सुरसार छैन । मैकोटको योमाखार निबासी लोबै बुदा मगरलाई यूवाहरुले स्टेचरमा डेड दिन बोकेर एक दिनको जिप यात्रा पछि मुसिकोटमा पुर्याई बसमा काठमाडौँ पुर्याउँदा सम्म ५ दिन बितेको स्थानीय बताउँछन् ।

काठमाडौमा पुर्याएर हतार हतार ललितपुरको बि एण्ड बि अस्पतालमा भर्ना गरेपनि उनलाई बचाउन नसकिएको परिवारको पिडा छ । खाम बस्तीमा राम्रो अस्पताल भएको भए औषधी उपचार गरेर बचाउन सकिने स्थानीय घर्तीले बताए ।

अस्पतालको अभावमा बर्षाैंदेखीको पिडा खेपीरहेका मैकोटबासीलाई यातायात नपुग्दा समस्या भएको छ । डेड दिन हिडेर बिरामीलाई बोक्नुपर्ने अवस्था अन्त्य गरिदिन स्थानीयले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्