झोलामा कार्यालय, गाउँ नै जाँदैनन् जनप्रतिनिधि



सुरेश तामाङ, ललितपुर

स्थानीय तहको निर्वाचनमा उम्मेदवारले सिंहदरबारको अधिकार गाउँ–गाउँमा ल्याउने वचन दिए। जनताले पनि विश्वास गरेर आफ्ना जनप्रतिनिधि चुने। दुई दशकसम्म जनप्रतिनिधिविहीन भएको स्थानीय तहबाट सहजरूपमा सेवा सुविधा पाउने अपेक्षा गरेका जनतामा विगतकै दुःख बल्झिएको छ।

स्थानीय तहमा नै रहेर सेवा सुविधा दिने प्रतिबद्धता गरेर निर्वाचनमा उठेका उम्मेदवार निर्वाचित भएपछि पुनः शहर केन्द्रित हुँदा ललितपुर बाग्मती गाउँपालिका–७ गिम्दीका स्थानीय दिक्क भएका छन्। विगतको जस्तो अहिले पनि सिफारिसलगायतको कामकाज गर्नका लागि शहर नै धाउनुपर्ने अवस्था सिर्जना भएको छ।

शहरमा बसे पनि जनताको काम रोकेको छैन क्यारे ?

बाग्मती गाउँपालिकाका–७ गिम्दीका लागि नवराज सञ्जेल नेकपा एमालेबाट वडा अध्यक्षमा चुनिनुभयो। वडा अध्यक्षमा निर्वाचित भएको ९ महिना भइसकेको छ। तर, बैठक र कार्यक्रम हुँदाबाहेक वडा अध्यक्षलाई स्थानीय बासिन्दाले गाउँमा देख्न पाएका छैनन्। अधिकांश समय उहाँ शहरमै बस्नुहुन्छ। मुस्किलले उहाँ महिनामा दुई पटक मात्रै वडामा पुग्ने गरेको वडा अध्यक्ष सञ्जेल स्वीकार गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ– ‘म शहरमा बसे पनि जनताको काम रोकेको छैन। जनताको सेवा गर्न म हप्ताको ३ दिन गाउँ जान्छु।’

ललितपुरको चापागाउँ दोबाटोमा रेडियन्ट स्कुल चलाएर बस्नुभएका वडा अध्यक्ष सञ्जेललाई स्कुलको व्यवस्थापन, पठनपाठनमा भ्याइनभ्याई पनि छ। तर, वडा अध्यक्ष भएर गाउँ नै जाँदैनन् भन्ने कुराको बचाउ गर्दै उहाँले भन्नुभयो– ‘वडा अध्यक्ष भएर गाउँमा जाँदै जाँदैनन् भन्न त मिलेन। परिवार सबै यतै छन्। जनताको प्रायः काम यतै हुने भएर यतै बोलाउँछु। नभए उतै गएर काम गर्छु।’

आफू हप्ताको सोमबार, मंगलबार र बुधबार ३ दिन मात्रै वडा कार्यालय जाने गरेको स्वीकार्दै जनताको काम जहाँ जस्तोसुकै अवस्थामा पनि गर्ने गरेको दाबीसमेत गर्नुभयो।
बाग्मती गाउँपालिकाकै वडा नम्बर १, घुसेलका वडा अध्यक्ष जगत्बहादुर लोलाई पनि गाउँभन्दा शहर नै प्यारो छ। उहाँ गाउँपालिकाको वडा अध्यक्ष भएर पनि पेसाले निर्माण व्यवसायी हुनुहुन्छ। उहाँ पनि शहरमै बस्नुहुन्छ। जसले गर्दा उहाँलाई सेवाग्राहीले गाउँमा भेट्न मुस्किलै छ। उहाँ पनि आफ्नो झोलामा वडा कार्यालयको लेटरप्याड र छाप बोकेर जनताको सेवा गर्न भन्दै शहरमा रमाउँदै आउनुभएको आरोप स्थानीयले लगाएका छन्।

उहाँले आफू प्रायः शहरमै हुने भए पनि अहिलेसम्म कोही जनताको काम नरोकेको बताउँदै भन्नुभयो– ‘जनताको काम अहिलेसम्म रोकेको छैन। शहरमै बस्छु। व्यवसाय गर्छु। जनताको सेवा पनि गरेको छु।’ कार्यालय झोलामै बोकेर शहरमा बस्ने गरेको प्रश्नमा उहाँले भन्नुभयो– ‘शहरमा बस्ने भएपछि लेटरप्याड, छाप त झोलामै बोक्नुप¥यो घरको सिरानीमुनि राखेर जनताको सेवा हुने हो र ?’

वडा अध्यक्ष लो र सञ्जेल जस्तै जिल्लाका कोञ्ज्योसोम, महांकाल र बाग्मती गाउँपालिकालगायतका अन्य वडा अध्यक्ष पनि गाउँ जाँदैनन्।

कोन्ज्योसोम–४ नल्लुका वडा अध्यक्ष तीर्थबहादुर घलान, बाग्मती–३ भट्टेडाँडाका वडा अध्यक्ष विष्णुप्रसाद तिमल्सिना, महांकाल–६ ठूलादुर्लुङका रामकृष्ण आचार्य, महांकाल–४ कालेश्वरका शान्ताप्रसाद गौतम पनि शहरमै बस्नुहुन्छ।

भौगोलिक रूपमा अति विकट जिल्लाको दक्षिणी भेगमा रहेका यी गाउँपालिकाका अधिकांश वडाअध्यक्ष गाउँ नगई शहरमै बस्छन्। शहरमै बस्ने उनीहरूले शहरबाटै सेवाग्राहीलाई गाउँबाट बोलाएर सेवा दिन्छन्। यहाँका वडा अध्यक्षहरूले सिंहदरबारका सेवा गाउँ गाउँमा होईन त्यसको ठीक उल्टो सेवा दिइरहेका छन्।
गाउँ नजानेमा सुगमदेखि दुर्गम ठाउँ कै वडाका वडा अध्यक्षहरू रहेका छन्। गाउँ नगई शहरमै बसेर गाउँको काम गर्ने र आफ्नो व्यवसाय संचालन गर्दै आइरहेका छन्। कसैले ठेक्कापट्टा त कसैले विद्यालय सञ्चालन गरेर बसेका छन्।

झन्डै २० वर्षसम्म जनप्रतिनिधिविहीन अबस्थामा पनि सचिवहरू गाउँ नगई सदरमुकाम र शहरमै बसेर काम गरेका थिए। अहिले जनप्रतिनिधिहरू आए पनि सानो सिफारिसका लागि पनि सेवाग्राही कच्ची साँघुरो र धुलाम्मे बाटो हुँदै ज्यान जोखिममा राखेर शहरमा बसेका वडा अध्यक्षहरूलाई खोज्दै हिँडेका छन्।

स्थानीयले चुनेका जनप्रतिनिधिले पनि उही कर्मचारीको पारा देखाउन थालेका छन्। उनीहरू कर्मचारीले जस्तै झोलामा कार्यालयको लेटर प्याड र छाप लिएर शहरमै बस्छन्।
सेवाग्राहीलाई शहरमै बोलाउँछन्। उनीहरू जनताबाट प्रत्यक्ष रूपमा निर्वाचित भएर जनतालाई शहरमा बोलाएर आफू भने व्यापार व्यवसायमा लागेका छन्। सुविधा भोगी भएका छन्। जनताको सेवा मरिमेटेर गर्छु भन्ने वडा अध्यक्षहरू एउटै स्वरमा भन्छन्– ‘शहरमा बसे पनि जनताको काम रोकेको छैन क्यारे ?

 

प्रतिक्रिया दिनुहोस्