विद्यार्थी नभएका सामुदायिक विद्याललय बन्द गरिने



ईश्वरराज ढकाल, काठमाडौं
काठमाडौं महानगरपालिकाले कम विद्यार्थी भएका विद्यालयको तह घटाउने र अत्यन्तै न्यून विद्यार्थी भएका विद्यालय बन्द गर्ने कार्यविधि बनाएको छ।

त्यस्तैका महानगर क्षेत्रभित्र सञ्चालन हुने सबै विद्यालय गुठीमार्फत सञ्चालन गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गर्ने तयारी गरेको छ। कम्पनी ऐनअन्तर्गत सञ्चालन हुने व्यवस्थालाई निरुत्साहित गर्न महानगरपालिकाले यस्तो व्यवस्था ल्याएको हो।

आगामी शैक्षिक सत्र २०७५ बाट लागू गर्ने गरी नयाँ कार्यविधि तयार गरेको महानगरपालिका शिक्षा विभागले विद्यालयको अनुगमनलाई कडाइ गर्ने भएको छ।

त्यसैगरी शिक्षक सरुवा गर्ने अधिकार कार्यपालिकालाई दिएको छ। सरुवा हुन चाहने शिक्षक र विद्यालयले सहमति दिएपछि मात्रै शिक्षक सरुवा गर्ने व्यवस्था गरेको छ। नियुक्ति र बढुवाको विषयमा भने केही उल्लेख गरेको छैन।

त्यसैगरी सबै विद्यालयमा सूचना र प्रविधिलाई अनिवार्यरूपमा प्रयोग गर्नुपर्ने नियम बनाइएको छ। सूचना प्रविधिले सबै विद्यार्थीको पढाइ र लेखाइमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने जनाउँदै कामपाले सबै सरकारी र निजी विद्यालयमा सूचना प्रविधिको प्रयोगलाई महत्त्व दिएको छ।

कामपा शिक्षा विभाग प्रमुख प्रल्हाद अर्यालले कार्यविधि स्वीकृत भएपछि विद्यालय शिक्षामा नयाँ व्यवस्था लागू हुने जानकारी दिनुभयो।
उहाँले भन्नुभयो– ‘कार्यविधि तयार गरेका छौं, कार्यपालिकाको बैठकले पारित गरेपछि लागू हुनेछ। कामपाको अब बस्ने कार्यपालिकाको बैठकले कार्यविधि स्वीकृत गर्ने भएको छ।’

अधिकांश स्थानीय गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले पारित गरेको कार्यविधिमा तत्काल विद्यालय व्यवस्थापन समिति गठन गरी अध्यक्षमा वडा अध्यक्ष राख्ने निर्णय गरेका छन्। तर कामपाले तयार गरेको कार्यविधिमा अभिभावलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाएर वडा अध्यक्ष वा अध्यक्षले तोकेको प्रतिनिधिलाई अनिवार्यरूपमा समितिको सदस्यमा राख्ने गरी कार्यविधि तयार गरेको छ।

‘हामीले स्थानीय तहका प्रतिनिधिलाई भन्दा पनि अभिभावकलाई नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष राख्ने गरी कार्यविधि बनाएका छौं।’ –कामपा शिक्षा विभागका प्रमुख अर्यालले भन्नुभयो।

उहाँले विद्यालयका प्रमुख व्यक्ति अभिभावक भएकाले अभिभावककै अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गर्नेगरी कार्यविधि तयारी गरेको जानकारी दिनुभयो।

कार्यविधिमा एउटा कक्षा कोठामा ४० जना विद्यार्थी रहने व्यवस्था गरेको छ। शिक्षा नियमावलीमा ५० जना उल्लेख भए पनि कामपाले महानगर क्षेत्रभित्रका विद्यालयमा एउटा कक्षामा ४० जना हुनुपर्ने गरी कार्यविधि बनाएको छ।

हाल काठमाडौं महानगरपालिकाभित्र ६ सय ५० संस्थागत र करिब सय सामुदायिक गरी करिब ७ सय ५० विद्यालय रहेका छन्। सामुदायिक विद्यालयमा करिब २ हजार शिक्षक कार्यरत छन्। जिल्ला शिक्षा कार्यालयको अधिकार कटौती गरेपछि कार्यविधि तयार गरेको कामपाले कार्यविधिको विषयमा सबै सरोकारवालासँग छलफल गरिसकेको छ।

शिक्षाविद्, शिक्षक संघ–संगठन, कर्मचारी, अभिभावक, निजी विद्यालयको छाता संगठन प्याब्सन र एनप्याब्सनलगायतका निकायसँग छलफल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्