उम्मेदवारको नाम बुझाउन आयोगको पत्र



सुनील महर्जन, काठमाडौं
निर्वाचन आयोग नेपालले सिट संख्याअनुरूप प्रतिनिधिसभाको समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवारको नाम बुझाउन दलहरूलाई पत्राचार गरेको छ।

आयोगले निर्वाचन भएको ६५ दिनपछि समानुपातिकतर्फको सिट संख्या सार्वजनिक गरी सो पत्र पठाएको हो। समानुपातिकतर्फ थे्रस होल्ड कटाएका पाँचवटा दललाई पत्राचार गरिएको आयोगका प्रवक्ता नवराज ढकालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

उक्त पत्रमा दलहरूलाई आफूले पाएको सिट संख्या र समावेशीको कलस्टरअनुसार यही माघ २९ गते साँझ ५ बजेभित्र निर्वाचित उम्मेदवारको नामावली पठाउन आग्रह गरिएको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको अध्यक्षतामा शुक्रबार बसेको आयोगको बैठकपछि उक्त पत्र पठाइएको हो।थे्रस होल्ड तीन प्रतिशत तोकिएको थियो। निर्वाचनमा सहभागी ४९ मा तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने ४४ दल रहेका छन्।

समानुपातिक निर्वाचन कार्यालयका निर्वाचन अधिकृत एवम् सचिव वेगेन्द्रराज शर्माका अनुसार नेकपा एमालेले ४१, नेपाली कांग्रेसले ४०, नेकपा माओवादी (केन्द्र)⁄समाजवादी जनता पार्टी⁄जनजागरण पार्टी नेपालले १७, राष्ट्रिय जनता पार्टी नेपालले ६ र संघीय समाजवादी फोरम, नेपाल ६ सिट प्राप्त गरेका छन्।

नेपालको संविधान–२०७२ को धारा ८४ को उपधारा (८) मा संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था छ। दलहरूले प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र राष्ट्रियसभातर्पm प्राप्त गरेको महिलाको सिट संख्याको आधारमा समानुपातिकतर्फबाट महिलाको संख्या कम्तीमा एक तिहाइ पु¥याउनुपर्नेछ। सोहीअनुरूप महिलाको सिट संख्यासमेत उल्लेख गरेर पत्राचार गरिएको प्रवक्ता ढकालले बताउनुभयो।

एक तिहाइ पु¥याउन (एमाले)ले कम्तीमा ३७, कांग्रेसले कम्तीमा २०, माओवादी केन्द्र⁄जनता पार्टी⁄जनजागरण पार्टीले कम्तीमा १६, राष्ट्रिय जनता पार्टीले कम्तीमा ६ र फोरमले कम्तीमा ५ जना महिलाको प्रतिनिधित्व सुनिश्चित गराउनुपर्नेछ। यसो गर्दा एमालेले चार, कांग्रेसले २०, माओवादी र फोरमले एक, एक पुरुषलाई मात्र समानुपातिक सांसद बनाउन सक्नेछन्। राजपाले सबै महिला पठाउनुपर्नेछ।

दलहरूले सम्बन्धित समावेशी समूहको प्रतिनिधित्व हुने गरी अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमका आधारमा उम्मेदवार छनोट गरी आयोगमा पठाउनुपर्नेछ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (५) बमोजिम केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिबाट उम्मेदवारको नामावली निर्णय गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्