३ र ६ मा शतप्रतिशत मतदान



सुनील महर्जन, काठमाडौं
राष्ट्रिय सभाको बुधबार भएको निर्वाचनमा दुई वटा प्रदेशमा शतप्रतिशत मतदान भएको छ। ६ वटा प्रदेशमा भएको निर्वाचनमध्ये प्रदेश नं ३ र ६ मा मात्र शतप्रतिशत मतदान भएको हो। प्रदेश नम्बर २ मा आठै जना सदस्य निर्विरोध निर्वाचित भएकाले त्यहाँ मतदान गर्नुपरेन।

प्रत्येक प्रदेशबाट तीन महिला, अन्य तीन, दलित एक, अपांगता वा अल्पसंख्यक एक–एक गरी आठ सदस्यका लागि निर्वाचन भएको थियो। हिजो भएको मतदानमा ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा रहेका थिए। यसअघि २४ जना निर्विरोध निर्वाचित भएका थिए। कुल ५६ सदस्यका लागि सो मतदान भएको थियो।
प्रदेश नं १ को मोरङ, ३ को ललितपुर, ४ को कास्की पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा मतदान भएको थियो। १० बजेबाट शुरू भएको मतदान २ बजे नै सकिएको थियो।

सम्बन्धित प्रदेशका निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त पछिल्लो विवरणअनुसार करिब ९९ दशमलव ५२ प्रतिशत मतदान भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी गराउनुभयो। आयोगले शुक्रबारसम्ममा सबै प्रदेशको मतपरिणाम राष्ट्रपतिसमक्ष बुझाउने लक्ष्य राखेको पनि प्रमुख निर्वाचन आयुक्त डा. यादवले जानकारी गराउनुभयो।

प्रदेश नं १ मा स्थानीय तहका प्रमुख तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबुहाङ र ताप्जेजुङ मिक्वाखोला गाउँपालिकाका उपप्रमुख रुद्रकुमारी साँवा मतदान प्रक्रियामा सहभागी हुनुभएन। त्यसै गरी संखुवासभा मकालु गाउँपालिकाका प्रमुख खड्ग कटुवालको सवारी दुर्घटनामा मृत्यु भएको थियो।

प्रदेशसभा सदस्य संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु तुम्वाहाफेले पनि मतदान गर्नुभएन। प्रदेश नं १ मा ९३ प्रदेशसभा र १ सय ३७ स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २ सय ७४ समेत गरी ४ सय ११ जनाले मतदान गरेका छन्। सो प्रदेशमा कुल मतदाता ३ सय ६७ रहेका छन्। सो प्रदेशमा दलित एक र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट एक गरी जम्मा २ जना सदस्यका लागि भएको थियो।

यसअघि महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए। प्रदेश नं ३ मा कुल मतदाता ३ सय ४८ जना सहभागी भएका थिए। त्यसमा प्रदेशसभाका १ सय १० सदस्य र स्थानीय तहको २ सय ३८ जना प्रतिनिधि थिए। सो प्रदेशमा ८ सदस्यका लागि १४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए।

आयोगका अनुसार प्रदेश नं ४ मा प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) मतदान गर्न आउनुभएन। प्रदेशसभा सदस्यको शपथ नै नलिइएका गुरुङबाहेक प्रदेश ४ मा अन्य सबैले मत हालेका छन्। प्रदेश नम्बर ४ मा अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट एक सदस्यमा उम्मेदवार निर्विरोध निर्वाचित भएकाले अन्य सदस्यमा निर्वाचन हुनेछ। सो प्रदेशमा कुल मतदाता २ सय ३० रहेका छन्।

कुल ३ सय ५ जना मतदाता रहेको प्रदेश नं ५ मा २ जनाले मत हालेनन्। संघीय समाजवादी फोरमबाट निर्वाचित विना पन्त र अहमद साहले मत हाल्नुभएन। यसअघि सो प्रदेशमा महिला ३ जना निर्विरोध निर्वाचित भइसकेका थिए। त्यसैले अन्य ३, दलित १ र अपांगता भएका वा अल्पसंख्यक समूहका १ जना गरी ५ पदका लागि निर्वाचन भएको थियो। यस प्रदेशमा कुल ३ सय ५ जना मतदाता रहेका छन्।

त्यसै गरी प्रदेश ६ को सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा भएको मतदानमा शतप्रतिशत मतदान भएको थियो। प्रदेश ६ मा १ सय ९८ जना मतदाताले नै मतदान गरेका छन्। प्रदेशसभा सांसद ४० जना र बाँकी नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी १ सय ५८ जना मतदाताले मतदान गरेका हुन्। प्रदेश नम्बर ६ मा सबै पदमा निर्वाचन भएको थियो।

त्यसै गरी प्रदेश ७ मा राष्ट्रिय जनता पार्टी नेपालका प्रदेशसभा सदस्य कृष्णकुमार चौधरी र मालती राना थारुले मतदान नगरेको आयोगले जनाएको छ। प्रदेश नं ७ को दिपायलको स्थानीय पद्म पब्लिक मुक्तिनारायण माविमा भएको मतदानमा २ सय २७ जना मतदाताले दिउँसो १ बजेसम्म नै मतदान गरिसकेका थिए।

महिला ३ र अन्य ३ सदस्यका लागि एकल सङ्क्रमणीय मत प्रणालीअनुसार मतदान भएको छ। त्यसै गरी दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १ गरी २ सदस्यका लागि सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुने व्यवस्था छ।
प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ सदस्यमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएकाले दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट १ गरी जम्मा २ सदस्यका लागि निर्वाचन भएको थियो।
६ प्रदेशका स्थानीय तहका १ हजार २ सय ३४ र प्रदेश सभाका ४ सय ४३ गरी कुल १ हजार ६ सय ७७ जना मतदाता रहेका छन्। आफ्नो मताधिकार प्रयोग गर्ने छन्। त्यसै गरी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १ हजार ५ सय ६ जना मतदाताको प्रत्येकको मतभार १८ र प्रदेश सभाका सदस्य ५ सय ५० जना मतदाता प्रत्येकको मतभार ४८ हुने प्रावधान छ।

मतदान सकिएलगतै ६ वटै प्रदेशमा मतगणना शुरू गरिएको आयोगले जनाएको छ। सबै प्रदेशको मतपरिणाम शुक्रबारसम्ममा आउने आयोगले जनाएको छ। मतपरिणाम बुधबार साँझदेखि आउन थालेको छ। प्रदेश नं १ र ७ को आठ सदस्यकै मतपरिणाम आएको छ।

प्रदेश १ मा राष्ट्रियसभा सांसदका २ सिटका लागि भएको चुनावमा वाम गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। दुईवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरू विजयी भएका हुन्।

दलिततर्फ एमालेका खेम नेपाली ६ हजार २ सय ७० मत ल्याएर विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी कांग्रेसका बिन विश्वकर्माले २ हजार ८ सय ३२ मत प्राप्त गर्नुभयो। सो पदमा स्थानीय तहका जनप्रतिनिधिको ९ र प्रदेशसभाको १ जनाको मत बदर भएको छ।

यस्तै अपांगता र अल्पसंख्यक पदमा पनि वाम गठबन्धनकै अगमप्रसाद वान्तवा राई विजयी हुनुभएको छ। यसअघि नै ६ जना निर्विरोध निवार्चित भएका थिए।

निर्विरोध निर्वाचित हुनेहरूमा महिला कोटामा वाम गठबन्धनका नैनकला ओझा र बिना पोखरेल, नेपाली कांग्रेसका सरिता प्रसार्इं रहनुभएको छ। यस्तै खुलातर्फ वाम गठवन्धनका हरिचरण शिवाकोटी, पर्शुराम मेघी गुरुङ र नेपाली कांग्रेसका रमेशजंग रायमाझी पनि निर्विरोध हुनुभएको थियो। विजयी उम्मेदवारलाई आज बिहीबार प्रमाणपत्र प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेश नं २ मा निर्विरोध निर्वाचित हुने ८ जनालाई हिजो नै
प्रमाणपत्र दिइयो। प्रदेश नं ४ मा दलित कोटाबाट माओवादीका खिबहादुर विक निवार्चित हुनुभयो। त्यस्तै ६ नंम्बर प्रदेशमा दलितमा नेकपा एमालेका नरपति लोहार ३ हजार ६ सय ६६ मतसहित विजयी हुनुभयो। यस्तै, अपांगता भएकामा माओवादी केन्द्रका जीवन बुढा विजयी हुनुभयो। बुढाले ३ हजार ७ सय २० मत प्राप्त गर्नुभयो।

त्यसै गरी प्रदेश नम्वर ७ मा राष्ट्रिय सभाको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। २ सिटका लागि भएको मतदानमा दुवै सिटमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। दलित कोटामा नेपाली कांग्रेसका शेरीराम पार्कीलाई पछि पार्दै नेकपा एमालेका चक्रप्रसाद स्नेही विजयी हुनुभयो। स्नेहीले ३ हजार ७ सय ८ मतभार प्राप्त गर्नुभयो।
यस्तै अपा· तथा अल्पसंख्यकको कोटामा नेकपा माओवादी केन्द्रका महेशकुमार महरा विजयी हुनुभएको छ। उहाँले नेपाली कांग्रेसका छत्रराज जोशीलाई पराजित गर्नुभएको हो। महराले पनि ३ हजार ७ सय ८ नै मतभार पाउनुभएको थियो। अन्य ६ जना भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्