लोपोन्मुख भाषाको संरक्षण गर्न शब्दकोष



काठमाडौं, (नेस)
भाषा आयोगले यो वर्ष २९ वटा लोपोन्मुख भाषाको संरक्षण गरी शब्दकोष निर्माण शुरू गरेको छ। ती भाषाहरूको कम्तीमा ५ हजार शब्दसहितको सरल शब्दकोष निर्माण गर्ने तयारी गरेको छ।

आयोगले ती भाषाको व्याकरण निर्माण र वर्ण निर्धारण गरी पठनपाठन गर्ने तयारी गरेको छ। आयोगका सहसचिव रामशरण सापकोटाले लोपोन्मुख भाषा नयाँ पुस्तालाई हस्तान्तरण गर्न अध्ययन शुरू गरिएको जानकारी दिनुभयो। उहाँले भाषिक इतिहास कायम गर्न ती भाषाको अध्ययन शुरू गरिएको केही वर्षमा अध्ययन सम्पन्न गरेर शब्दकोष निर्माण गर्ने बताउनुभयो। आयोगले २९ वटा भाषाको व्याकरण निर्माण गर्न तालिमसमेत दिने योजना बनाएको छ।

आयोगले मेचे, राउटे, कोचे, कुसुन्डा, राजी, लाप्चा, हायु, सुरेल, याख्खा, दुरा, कसवरिया, बोटे, डोने, दनुवार, उराउ, लोमे, इसान, ब्यासी, दराई, सिउवा, कागते, भोजपुरी, धानुक, साम्पाङ, सोनाहा, जुम्ली, वेलहारे, राजवंशी, कुमाललगायतका भाषाको अध्ययन शुरू गरेको हो। आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले अहिले भएका तर भोलि नहुने र अस्तित्व मेटिने खालका भाषाको संरक्षण शुरू गरिएको जानकारी दिनुभयो। ‘आयोगको मुख्य उद्देश्य नेपालमा रहेको भाषाको संरक्षण र संवद्र्धन गर्नु हो, सोहीअनुरूप २९ वटा भाषाका गहन अध्ययन शुरू गरेका हौं।’ –उहाँले भन्नुभयो।

आयोगले लोप हुन लागेको भाषाको जिडिटलाइज गरी ई–पुस्तकालयमा समेत राख्ने तयारी गरेको छ। नेपालमा कुसुन्डा जाति भए पनि सो भाषामा बोलचाल गर्ने एक जना मात्र रहेका छन्। त्यस्तो भाषाको इतिहास जोगाइराख्न अपरिहार्य भएकाले भाषाको संरक्षण गर्ने कामको थालनी गरिएको उहाँको भनाइ छ। हाल नेपालमा १ सय २३ प्रकारका भाषा भए पनि सर्वेक्षण ९६ प्रकारका भाषा छन्। त्रिविको केन्द्रीय भाषा विभागले ९६ प्रकारको भाषा खोजी गरेको हो। आयोगले तीमध्ये १५ वटा भाषाको सर्वेक्षण शुरू गर्न लागेको जनाएको छ।

आयोगका सहसचिव सापकोटाका अनुसार त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय भाषा विभागको सहकार्यमा सामाजिक समाज भाषा वैज्ञानिकरूपमा सर्वेक्षण शुरू गरिएको छ। त्यस्तै मकवानपुरको राक्सिराङकको चेपाङ जाति अध्ययन गर्ने ५० विद्यालय र लमजुङको गुरुङ भाषामा अध्ययन गर्ने २९ वटा विद्यालयमा मातृभाषाको पठन पाठन शुरू गर्न अध्ययन शुरू गरेको छ। आयोगले आगामी शैक्षिक सत्रमा ती विद्यालयमा मातृभाषाको अध्ययन शुरू गर्ने जनाएको छ। ‘हामी कसरी अध्यापन गराउने भन्ने विषयमा मोडल विकास गरी अध्यापन शुरू गराउने छौं।’ –सहसचिव सापकोटाको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्