पहिलो सुरुङ मार्ग बन्ने पक्का



सुरेश तामाङ, काठमाडौं

देशको केन्द्रीय राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगामा सुरुङ मार्ग बन्ने भएको छ। विभिन्न जिल्लाबाट दिनहुँ हजारौं सवारी साधन गुड्ने सो सडकमा यात्रुले प्रायजसो जामको सास्ती बेहोर्दै आउनुपरेको अवस्थामा सडक विभागले उक्त सुरुङ मार्ग बनाउन लागेको हो। उक्त मार्ग अन्तर्राष्ट्रियस्तरको हुने भएकाले यस योजनालाई विशेषरूपले हेरिएको विभागले जनाएको छ।

विभागका वैदेशिक महाशाखा प्रमुख श्रेष्ठका अनुसार सुरुङ मार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने कार्यसमेत अन्तिम अवस्थामा पुगिसकेको छ।

उहाँ भन्नुहुन्छ– ‘यही फेब्रुअरीको अन्त्यसम्ममा डीपीआर तयार पार्ने लक्ष्य राखेको जापानिज कन्सल्टेन्सीले काम गरिरहेको छ। उक्त कन्सल्टेन्सीले सन् २०१७ को मार्चको अन्त्यदेखि डीपीआर तयार पार्न शुरू गरेको थियो।’ डीपीआर बनेलगत्तै सुरुङ मार्ग निर्माण कार्य आउँदो असारमा थालनी गर्ने विभागको योजना छ। २ दशमलव ५ किलोमिटर लम्बाइ रहने उक्त मार्ग थानकोटदेखि नागढुंगा हुँदै धादिङको सिस्ने खोलामा निस्कने बताइएको छ।

जापानी सहयोग नियोग (जाइका)को ऋण सहयोगमा बन्न लागेको उक्त मार्गका लागि करिब २० अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। सरकारले यसका लागि ५ अर्ब ५४ करोड रुपियाँ बजेट विनियोजन गरेको छ भने जापान सरकारसँग १६ अर्बको ऋण सम्झौता भइसकेको छ। करिब ५ वर्षभित्र निर्माण सकिने लक्ष्यसहित सो योजना अघि बढेको बताइएको छ। यसका लागि सरकारले स्रोत व्यवस्थापन गरिसकेको छ। सो योजना सन् २०२२ सम्ममा पूरा गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ।

सडक विभागका अनुसार जाइकाले शून्य दशमलव १ प्रतिशत सहुलियत ब्याजदरमा नेपाललाई ऋण उपलब्ध गराएको हो। बाँकी रकम नेपाल सरकारले नै बेहोर्नेछ। उक्त ऋण भुक्तानी अवधि ४० वर्षको हुनेछ।
सुरुङ मार्गको पूर्वपट्टि बलम्बु, महादेवस्थान, थानकोट, दहचोकलगायतका स्थानको ४ सय ३७ कित्तामा रहेको २ सय ६६ रोपनी जग्गा अधिग्रहणका लागि सूचना जारी गरिएको विभागले जनाएको छ।

यसैबीच विभागले उक्त मार्ग बनाउनका लागि परीक्षणको क्रममा पछिल्लो १५ दिनमा सयपटक ब्लास्टिङ भएको जनाएको छ।

विभागका वैदेशिक महाशाखा प्रमुख श्रेष्ठ यसको वस्तुस्थिति थाहा पाउन सहज होस् भनेर हेतुले ब्लास्टिङ गरिएको बताउनुहुन्छ। ‘सुरुङ खन्दा आइपर्ने कठिनाइलाई शुरूमै थाहा पाउनका लागि यो ब्लास्टिङ विधिबाट परीक्षण गरिएको हो,’ उहाँको भनाइ छ– ‘यसलाई एसआरटी (सेसमिक रिफ्लेक्टिभ टेस्ट) विधि भनिन्छ।’ यस विधिबाट माटो परीक्षण, चट्टानहरूको वस्तुस्थिति, भूकम्प जाँदा कस्तो असर गर्छ भनेर एसआरटी गरिएको श्रेष्ठ प्रस्ट पार्नुहुन्छ। पुसको अन्तिम सातादेखि माघको दोस्रो सातासम्म लगाएर ब्लास्टिङ गरिएको हो।

विभागको समन्वय र प्रहरीको उच्च सुरक्षा निगरानीमा सुरुङ मार्ग निर्माण गर्ने खण्डमा ब्लास्टिङ गरिएको बताइन्छ। सुरुङ मार्ग निर्माण भएपछि अत्यधिक ट्राफिक जामको समस्या र सवारी दुर्घटनामा कमी आउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्