संसद् भवनको तयारी पूरा



गंगा बराल, काठमाडौं

संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक सञ्चालनका लागि तयारी पूरा भएको छ। भौतिक पूर्वाधार, आन्तरिक व्यवस्थापनसहित समग्र पक्षको तयारी सकिएको संसद् सचिवालयले जनाएको छ।

सचिवालयका प्रशासन महाशाखा प्रमुख एवम् सह–सचिव सुरजकुमार दुराले बैठकका लागि माइक व्यवस्थापनबाहेक सबै पक्षको तयारी सकिएको जानकारी दिनुभयो। संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाका उपसचिव हरिहर पोख्रेलका अनुसार बैठक भवन व्यवस्थापनका लागि पाँचवटा टेन्डर भएका थिए।

माइक जडान र अडियो भिडियो रेकर्डिङ, राष्ट्रियसभाको मञ्च निर्माण र व्यवस्थापन, दुवै सभाका लागि कार्पेट बिछइउने, पोलिसिङ गर्ने र कुर्सी मिलाउने तथा राष्ट्रिय सभाका लागि शौचालय निर्माणका लागि टेन्डर खुलाइएको थियो। कुर्सीसँगै पर्दा र कार्पेटको रङ पनि एकै खालको रहेको छ। प्रतिनिधिसभाभित्र सबै सांसदलाई टेबल सुविधा भने दिइएको छैन। कुनै विधेयक पास गर्नुपरे केही सांसदले टेबल ठोक्नेछन् भने बाँकीले थपडी बजाउनुपर्ने अवस्था देखिएको छ।

दुराले प्रतिनिधिसभाका सदस्यका लागि आकाशे निलो र राष्ट्रियसभाका सदस्यका लागि रातो कभर भएका कुर्सी रहने जानकारी दिनुभयो। प्रतिनिधिसभाको बैठक पहिलेकै सगरमाथा हलमा र राष्ट्रियसभाको बैठक नुत्से हलमा बस्नेछ। दुवै बैठक सँगै बस्नुपरेमा प्रतिनिधिसभाकै हलमा बस्ने व्यवस्था मिलाइएको छ।

प्रतिनिधिसभाभित्र रहेका पहेंलो कुर्सीमा भने संवैधानिक आयोगका प्रमुखलाई छुटइइएको छ। दुवै संसद् हलभित्र सांसदहरू एउटै गेटबाट प्रवेश गर्नेछन् भने उनीहरू बीचबाट अलग–अलगतिर लाग्नेछन्। गत संविधानसभाको जस्तै प्रतिनिधिसभाका सांसदहरूले संसद् हलभित्र दुईवटा गेटबाट प्रवेश गर्न पाउनेछन्। राष्ट्रियसभाका लागि दर्शक जाने र पत्रकार प्रवेश गर्ने एउटै बाटो तय गरिएको छ। प्रतिनिधिसभाका लागि पत्रकार कक्ष पुरानै रहने भएको छ।

राष्ट्रियसभामा पछाडि सिसाले छेकेर सांसद र पत्रकारलाई छुटइइएको छ। प्रतिनिधिसभाभित्रै पनि पत्रकारका लागि एउटा कुनामा प्रवेश दिने तयारी संसद् सचिवालयको छ तर के गर्ने भन्ने टुंगो नलागेको सचिवालयले जनाएको छ। ‘पत्रकारलाई नै भित्र प्रवेश गर्न दिने कि नदिने भन्ने बारेमा छलफल चल्दै छ तर सभामुखले के भन्नुहुन्छ त्यसपछि मात्र निर्णय हु्न्छ।’ –दुराले भन्नुभयो।

बीचमा अस्थायी प्रकृतिले छुटइइन्छ, राष्ट्रियसभाको पनि बैठक हुँदा खोलिन्छ नभए छेकबार हुन्छ। यसअघिका संविधानसभाका दुईओटा बैठकमा ४ सयवटा मात्र कुर्सी अट्ने क्षमता भएको हलमा साँघुरो हुने गरी ६ सय १ भन्दा केही बढी कुर्सी राखिएको थियो। विगतमा पत्रकारलाई बेग्लै सूचना कक्ष छुटइइएको थियो। संसद् बैठक कक्ष माथि पनि पत्रकारलाई समाचार संकलन गर्नका लागि ठाउँ उपलब्ध गराइएको थियो।

३ वटा गेटबाट संसद् भवनभित्र प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। १ नम्बर गेटबाट प्रधानमन्त्री, सभामुख, मन्त्री र शीर्ष नेताहरू प्रवेश गर्नेछन् भने २ र ३ नम्बर गेटबाट सांसदहरू प्रवेश गर्नेछन्। ३ नम्बर गेटबाट पत्रकार, दर्शक र कर्मचारी प्रवेश गर्नेछन्।

पोख्रेलका अनुसार वार्षिक १५ करोड रूपियाँ तिर्ने गरी संसद् भवन भाडामा लिइएको छ। यसअघि वार्षिक साढे १० करोड तिर्नुपर्दथ्यो। उक्त रकममा १३ प्रतिशत कट्टा गरी वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति सचिवालयलाई बुझाउनुपर्छ। सम्मेलन केन्द्र शहरी विकास मन्त्रालयअन्तर्गत रहेको छ। २ वर्षमा १० प्रतिशत भाडा बढ्दै आएकोमा अब ३ वर्षमा मात्र भाडा बढाउने सहमति भएको छ। यसअघि वार्षिक साढे १० करोड तिर्नुपर्दथ्यो।

प्रतिक्रिया दिनुहोस्