‘डी’ ग्रेड ल्याउनेले कक्षा ९ पढ्न नपाउने

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं

कक्षा ८ को परीक्षामा ‘डी’ ल्याएका विद्यार्थीले कक्षा ९ मा भर्ना हुन नपाउने भएका छन्। शिक्षा मन्त्रालयमा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

यो वर्षदेखि कक्षा ८ को परीक्षाफल लेटर ग्रेडिङ प्रणालीअनुसार गर्ने तयारी स्थानीय तहले गरेको छ। स्थानीय तहले पहिलोपटक कक्षा ८ वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै शिक्षा मन्त्रालयले यस्तो निर्णय गरेको हो।

ग्रेडिङ परीक्षा प्रणालीअनुसार आफूलाई चित्त नबुझेको विषयमा पुनः परीक्षा दिन पाउने व्यवस्था भएको अवस्थामा मन्त्रालयले भने ‘डी’ ल्याउने विद्यार्थीलाई कक्षा ९ मा जाने ढोका बन्द हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रले ग्रेडिङसम्बन्धी प्रस्ताव मन्त्रालयमा पेस गरेको थियो। लगत्तै मन्त्रालयमा बसेको बैठकले ८ कक्षामा आठवटै विषयमा अनिवार्यरूपमा ‘डी प्लस’ ल्याएपछि मात्रै ९ कक्षा पढ्न पाउने व्यवस्था गरेको हो। मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले ‘डी प्लस’सम्म ल्याउने विद्यार्थीले मात्रै कक्षा ९ मा अध्ययन गर्न पाउने व्यवस्था भएको जानकारी दिनुभयो।

‘डी प्लस’ भनेको ३० देखि ४० प्रतिशत अंक भार हो। यो वर्ष कक्षा ८ को लागि निर्णय भएको छ। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले कक्षा ९ मा अध्ययन गर्न चाहने विद्यार्थीले कक्षा ८ को अन्तिम परीक्षामा ‘डी प्लस’ ल्याउनै पर्ने जानकारी दिनुभयो।

सबै अनिवार्य विषयमा ‘डी प्लस’ ल्याउने निर्णय भएको जानकारी दिनुभयो। उहाँले ‘डी प्लस’ नल्याएका विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको जानकारी दिँदै भन्नुयो– ‘निर्णय भइसकेको छ, शिक्षा मन्त्रालयले अब स्थानीय निकायलाई निर्देशन दिनेछ।’

स्थानीय निकायले कार्यविधि बनाएर कार्यान्वयन गर्ने भएको छ। स्थानीय तह काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख प्रल्हाद अर्यालले अब कार्यविधि बनाएर निर्णय गरिने जानकारी दिनुभयो।

उहाँले मन्त्रालयले निर्णय गरेको सुनको र निर्देशन आएपछि कार्यान्वयन गर्ने बताउनुभयो।

कक्षा ११ वा १२ मा जस्तो एउटा विषयमा मात्रै ग्रेड वृद्धि होइन आफूलाई इच्छा लागेको विषयमा पुनःपरीक्षा दिन पाउने व्यवस्था गरेको काप्रीले बताउनुभयो।

विदेशी विद्यालयबाट कक्षा ८ वा सो सरह अध्इयन गर्ने विद्यार्थीको हकमा कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीका लागि शिक्षा मन्त्रालयले नमुना कार्यविधि बनाएर स्थानीय तहलाई उपलब्ध गराउने र स्थानीय तहले नमुना कार्यविधिअनुसार स्थानीय कार्यविधि बनाएर कक्षा ९ मा भर्ना लिने पाउने निर्णय गरेको मन्त्रालयका सह–प्रवक्ता सरस्वती पोखरेलले जानकारी दिनुभयो। राष्ट्रिय परीक्षा बोर्डले यो वर्षदेखि कक्षा ११ र आउँदो वर्षदेखि कक्षा १२ को परीक्षा ग्रेडिङ प्रणाली लागू गरिसकेको छ। कक्षा ११ को परीक्षाफल ग्रेडिङ प्रणालीबाट भए पनि अन्योलता कायम रहेको छ।