महालेखा परिक्षकको कार्यालयले स्थानीय तहको पनि लेखा परिक्षण गर्ने



रविन भट्टराई, ताप्लेजुङ
महालेखा परिक्षकको कार्यालयले यस वर्ष देखि ताप्लेजुङका स्थानीय तहको पनि लेखा परिक्षण गर्ने भएको छ ।

जिल्ला शिक्षा कार्यालय ताप्लेजुङको भवनमा कार्यालय स्थापना गरी जिल्लाका सरकारी कार्यालय सहित यस वर्ष देखि स्थानिय तहको पनि लेखा परीक्षण गर्ने महालेखा परिक्षकको कार्यालयका निर्देशक तारा प्रसाद पाण्डेले जानकारी दिए ।

लेखा परीक्षणका विषयमा बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा निर्देशक पाण्डेले जिल्लाको एक नगरपालीका सहित सबै गाउँपालीकाको लेखापरीक्षण पनि गरीने बताएका हुन ।

“फागुन सम्म कार्यालय स्थापना गरेरनै सबै कार्यालय र स्थानिय तहको क्रमश लेखा परीक्षण गर्ने तयारी गरेका छौ, कुनै कार्यालयको चाँडो र कुनैको ढिला गरे पनि हुने भएकाले सो विषयमा पनि जानकारी लिन सबै कार्यालयका प्रमुख र लेखापाललाई बोलाएर छलफल गरीएको हो,” निर्देशक पाण्डेले सञ्चारकर्मिलाई बताए ।

निर्देशक पाण्डेले यसबर्षदेखि स्थानिय तह सहित लेखा परीक्षण कार्यालयले सरकार मातहतको धार्मिक संस्थाहरुको पनि लेखा परिक्षण शूरु गरेको बताउनुभयो । देशका बढी भेटी तथा दानबाट आर्थिक आम्दानी गरेका धार्मिक संस्थाले अपारदर्शी ढंगले काम गर्ने, उनीहरुको आम्दानी र खर्चमाथि कसैले निगरानी नराख्ने हुँदा धार्मिक संस्थाको आर्थिक अपचलन बढेकाले धार्मिक संस्थाको पनि लेखापरिक्षण गर्न लागिएको उहाँको भनाई छ ।

यस्तै कार्यालयले यस बर्षदेखि आर्थिक गतिबिधीको मात्र लेखा परिक्षण नगरेर रकम खर्च भएका विकास निर्माणका कामहरु, सेवा प्रवाहको अवस्थाको पनि लेखा परिक्षण गर्ने भएको छ । सेवा प्रवाह र विकास निमार्णको अवस्था र प्रभावकारितालाई पनि आधार बनाएर लेखापरिक्षण गरिने पाण्डेले जानकारी दिए ।

विकास निर्माणका काममा अनियमितता, बजेट विनियोजन, खर्च लगायतका बिषयमा हिनामिना गरिएको छ भने संवन्धित क्षेत्रमा सार्वजनिक सूचना जारी गरेर लेखापरिक्षण गर्ने तयारी गरिएको पाण्डेको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसिको अध्यक्षतामा भएको सो छलफलमा महालेखा परीक्षकको कार्यालयको काम, लेखा परीक्षणको प्रकृया, बेरुजु लगायतको विषयमा जिल्लाका स्थानिय तह र सरकारी कार्यालयका लेखा शाखामा कार्यरत कर्मचारीलाई जानकारी दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्