सडक निर्माणमा ठेकेदारको मनोमानी



मधुसूदन रायमाझी, काठमाडौं

राजधानी काठमाडौंमा निर्माणाधीन अधिकांश सडक ठेकेदारको लापरवाही र ढिलासुस्तीका कारण निर्माणमा ढिलाई हुँदै आएको छ। सडक निर्माणको जिम्मेवारी पाएर पनि समयमा नै काम शुरू नगर्ने परम्पराका कारण ठेक्का अवधि गुजार्दै म्याद थप्ने प्रवृत्ति बढदै गएको छ। काठमाडौं उपत्यकामा सडक निर्माण र विस्तारका कारण दैनिकरूपमा सर्वसाधारण र यात्रुले धुलोका कारण सास्ती खेप्दै आएका छन्। सडक निर्माणका क्रममा सरकारी अनुगमन प्रभावकारी नहुँदा निर्माणको जिम्मेवारी लिएका निर्माण व्यवसायीले बहानाबाजी बनाउँदै काम समयमा सम्पन्न गर्नतिर भन्दा पनि ठेक्काको म्याद थप्नतिर बढी ध्यान दिने गरेका छन्।

डिभिजन सडक कार्यालय काठमाडौंले त्रिपुरेश्वरदेखि बूढानीलकण्ठसम्मको सडक निर्माण र विस्तारमा काम गर्दै आएको छ। तर समयमा सडक निर्माण नहुँदा स्थानीयले सास्ती र हैरानी खेप्दै आएका छन्। ‘महाकाल–तीनचुले सडक विस्तार कार्य शुरू भएको लामो समय बितिसक्दा समेत सडक अझै कालोपत्रे हुन सकेको छैन’, स्थानीय फर्बु शेर्पाले भन्नुभयो– ‘सरकार सडक भत्काउन मात्र हतार गर्छ बनाउन चासो नै देखाउँदैन।’ ठेकेदार कम्पनीले काम अगाडि बढाए पनि तीव्रताका साथ अगाडि बढाउने खासै चासो नेखाएकोप्रति गुनासो गर्दै उहाँले थप्नुभयो– ‘वर्षा लाग्यो हिलोले हैरान, हिउँद लाग्यो धुलोको सास्ती, विरोध गर्यो एक कानले सुनेर अर्को कानले उठाउने चलन छ।’

सडक निर्माणमा राम्रो बहानाबाजी गर्ने विषय बनेको मेलम्ची खानेपानी पाइप विस्तार आयोजना। अहिले अधिकांश स्थानमा खानेपानीको पाइपलाइन विस्तार भएको छ। खानेपानीको पाइपलाइन विस्तार नभएका क्षेत्रमा पनि ठेकेदार कम्पनीले काम अगाडि बढाउन खासै चासो देखाएका छैनन्।

डिभिजन सडक कार्यालय काठमाडौं–१ बाट मात्रै झण्डै ८४ वटा सडक विस्तारको योजना सञ्चालनमा छन्। तीमध्ये थोरै मात्र सम्पन्न भएका छन् भने अधिकांश सडक निर्माणले ठेकेदारको ढिलासुस्तीका कारण गति लिन सकेका छैनन्। समयमा नै सडक निर्माणका लागि स्थानीयले पटक–पटक कार्यालयमा आएर धर्ना दिने ध्यानाकर्षण गराउँदा पनि कामले गति लिन नसकेकोप्रति सडक विस्तार भएका क्षेत्रका बासिन्दा आक्रोशित छन्। सरकारी बेवास्ता, निर्माण व्यवसायीको मनोमानी, सरोकारवाला निकायबीच समन्वयको अभावलगायतका कारणले सडक निर्माण कार्यमा ढिलासुस्ती हुँदै आएको छ।

काठमाडौंमा निर्माण गरिने सडकको जिम्मेवारी पनि बाँडफाँड गरिएको छ। ८ मिटरभन्दा तलको सडकको निर्माण नगरपालिकाले गर्छ। त्यसै गरी १० मिटरदेखि १४ मिटरको सडक सडक डिभिजन कार्यालय र त्यसभन्दा माथिको सडक उपत्यका सडक विस्तार आयोजनाले गर्दै आएको छ। ८४ वटा सडकमध्ये हाल ५० वटा सडक निर्माणाधीन अवस्थामा रहेको सडक डिभिजन कार्यालय काठमाडौं–१ का सूचना अधिकारी सुशीलराज भण्डारी बताउनुहुन्छ। उहाँले भन्नुभयो– ‘लक्षित समयभित्र नै सडक निर्माणको काम सम्पन्न गर्ने हाम्रो लक्ष्य हो, तर सोचेजस्तो गरी काम हुन सकेको छैन।’ सडक निर्माणका लागि ठेक्का पार्न जसरी प्रतिस्पर्धा हुन्छ। निर्माण गर्नको लागि ठेकेदार कम्पनीहरूले त्यसरी नै ढिलासुस्ती र अलमल गर्दै आएका छन्।

किन समयमा नै काम हुन सक्दैन? भन्ने नेपाल समाचारपत्रको जिज्ञाशामा सूचना अधिकारी भण्डारी भन्नुहुन्छ– ‘निर्माण व्यवसायीले समयमा नै निर्माण सामग्री नपाएको र खानी बन्द हुँदा महँगो हुने कारणले अपेक्षा गरेकोजस्तो गरी काम अगाडि बढन सकेको छैन।’ ठेक्का लिँदा समयसीमाभित्र सम्पन्न गर्नुपर्ने भए पनि विशेष कारण देखाएर छ महिनासम्म ठेक्काको अवधि थप्ने प्रावधान रहेको छ। जसको फाइदा ठेकेदार कम्पनीहरूले उठाउँदै आएका छन्। समयभित्र नै काम सन्पन्न गरे सरकारले त्यस्ता ठेकेदार कम्पनीलाई पुरस्कार पनि दिने व्यवस्था गरेको छ। तर डिभिजन कार्यालयबाट अहिलेसम्म एक जनाले पनि समयमा नै काम गरेर पुरस्कार नलिएको सूचना अधिकारी भण्डारीले बताउनुभयो।

सरकारी निकायबीच नै समन्वय नहुँदा झन् जटिलता थपिएको छ। सडक विस्तारका क्रममा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमले समयमा पोल नसारिदिँदा पनि समस्या आउने गरेको बताउँदै भण्डारीले ढल र खानेपानीको पाइप विस्तारको कामले समेत जटिलता थपिएको बताउनुहुन्छ। खानेपानीको पाइप लिक हुँदा पनि सडक निर्माण गर्न कठिनाइ थपिएको बताउँदै सूचना अधिकारी भण्डारीले सडकको गुणस्तरीयता कायम गराउन आफूहरू रातदिन नभनी लागेको बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्