पुनर्निर्माणले गति लिन सकेन, जाडोयाममा भूकम्पपीडित अस्थायी टहरामै बस्न बाध्य



पुष्कर बुढाथोकी, भक्तपुर

र्यविनायक नगरपालिकाका बासिन्दाले राष्ट्रिय भूकम्प पुनर्निर्माण प्राधिकरण भक्तपुरका प्रमुख र इन्जिनियरलाई अनुदान सम्झौता भए पनि अनुदान नपाएको गुनासो गरेका छन्।

सूर्यविनायक नगरपालिका–७ गुण्डुमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार सञ्जाल भक्तपुर र गुण्डु कार्यालयको सहकार्यमा सम्पन्न भूकम्पपीडितका लागि राहत तथा पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्पपीडितले अनुदान नपाएको गुनासो राखेका थिए।

सहभागी अधिकांश भूकम्पपीडितले अनुदान सम्झौता भए पनि रकम नपाएको, इन्जिनियर नआउँदा समस्या भोग्नुपरेको, गुनासो फारम भर्दा पनि वास्तविक पीडित छुटेको गुनासो राखेका थिए।

स्थानीय कविता थापामगर, सुनीता केसी, डल्ली श्रेष्ठ, झुनु खड्का, अप्सरा राजभण्डारीलगायतका सहभागीले अनुदान सम्झौता भए पनि अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको भन्दै सोध्नुभयो– ‘हाकिम साहेब, सम्झौता सकिएको २ महिना बित्न लागिसक्यो, हामीले अनुदान कहिले पाउँछौं।’

जिल्लाभरका अधिकांश पीडितले पोख्ने गुनासो एउटै हो– चिसो मौसम शुरु भइसक्दासमेत सरकारले भूकम्पपीडितका लागि स्थायी आवास पुनर्निर्माणमा विभिन्न कारण देखाउँदै अल्झाउने गरेको छ।

जाडोयाम शुरु भएसँगै जस्ताको अस्थायी टहरामा शीत चुहिने, जमिनको चिसो बढेर बिरामीसमेत हुन थालेको भूकम्पपीडित सिपाडोलका रामबहादुर लामा बताउनुहुन्छ। आर्थिक अभाव, नक्सापास, मापदण्ड, जग्गाको स्वामित्व नहुनुका कारणले समयमै घर निर्माण गर्न नसकेको गुनासो भूकम्पपीडितहरू राख्छन्।

भूकम्प गएको ३१ महिना लाग्दासमेत सरकारको पुनःस्थापनाको आशमा बसिरहेका विस्थापित जस्ताको टहरामा नै जीवन गुजारिरहेका छन्। अहिले सबै क्षेत्रका भूकमपीडितले चिसोमा कष्टकर जीवन बिताउँदासमेत सरकार मौन छ। भूकम्पपीडित चिसोको त्राससँगै जोखिममा रात बिताउन बाध्य छन्। घर भूकम्पले भत्काएपछि पाल टाँगेर बस्दै आएका सयँैं मानिस चिसोसँगै हावाहुरी र पानीको त्रासमा रात गुजार्ने गरेका छन्। न शरीर तन्काएर सुत्न सकिन्छ, न त आनन्दले निदाउनै सकिन्छ, भूकम्पपीडित लालबहादुर श्रेष्ठले भन्नुभयो– ‘त्रासले निद्रा लाग्दैन भने चिसोले त्यत्तिकै सताएको छ।’

खाली ठाउँ नपाएपछि बाध्य भएर सडककिनारमा बस्दै आएका सल्लाघारीका पीडितको गुनासो र वास्तविकता कम पीडादायक छैन। ओत लाग्ने पाल र राहतसमेत नपाएको उनीहरूले गुनासो गरेका छन्।
कतिपय पीडितहरू राहत सामग्री नपाएकोमा गुनासो गर्दैनन् तर पाल दिए हुन्थ्यो भन्ने उनीहरूको एउटै माग रहेको छ। २०७२ साल वैशाखको विनाशकारी भूकम्पसँगै घरबारविहीन भएर टहराबाट नै कष्टकर जीवन गुजारेका पीडित यो वर्ष पनि एकसरो टिनको छानाको भरमा जीवन बिताउन बाध्य छन्।

हिमाली क्षेत्रमा वर्षा र हिमपातका कारण चिसो बढेकाले अब कसरी दिन बिताउने भन्ने अन्योलमा भूकम्पपीडित छन्। चिसो मौसम मध्य भइसक्दासमेत सरकारले भूकम्पपीडितका लागि स्थायी आवास पुनर्निर्माणमा विभिन्न कारण देखाउँदै अल्झाउने गरेको भक्तपुरका पीडित बताउँछन्।

गुण्डुकी कैलाश थापामगरले घर भत्किएर सेतो, रातो परिचयपत्र पाए पनि अनुदानबाट वञ्चित गरिएको बताउनुभयो भने प्रभाकर राजभण्डारीले भूकम्पले आफ्नो घर चिरा–चिरा परे पनि भूकम्पपीडितको नामबाटै हटाएर अनुदानबाट वञ्चित गरिएको बताउनुभयो। स्थानीय जयश्वरी नगरकोटीले भूकम्पले सँगै भत्किएको दाजुको परिवारले अनुदान पाए पनि आफूले भने अनुदान नपाएको बताउँदै गुनासो फाराम भर्दा पनि सम्बोधन नभएको बताउनुभयो।

स्थानीय सविता थापामगरले घर भत्किएर टहरामा बस्दै आए पनि आफ्नो नाम पीडितको सूचीमा नपर्दा अनुदान नपाएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘कि त भूकम्पले तेरो घर भत्किएको होइन भन्नुपर्यो कि त गुनासो फाराम भरेको छु अनुदान दिनुपर्यो, पक्षपात किन।’ कार्यक्रममा अनुदान पाएकाले पनि नगरपालिकाले नक्सापास नगरिदिँदँ दोस्रो किस्ता नपाएको गुनासो गरेका थिए।

स्थानीय राजु खत्री, दुर्गाबहादुर देउबन्जार, लक्ष्मण धौबन्जार, प्रदीप घिमिरेलगायतले १३ फिटको बाटो छैन भन्दै गोरेटो बाटोमा नगरपालिकाले नक्सापास नगरिदिँदँ घर बनाउन र अनुदान लिन नपाएको गुनासो राख्नुभयो।

कतिपयले भने भूकम्प पुनर्निर्माण प्राधिकरणले खटाएको इन्जिनियर अझै पनि गाउँमा नआएको र बोलाउँदा ट्याक्सी लिएर लिन र पुर्याउन आउ भन्ने गरेकाले पनि काम गर्न नपाएको गुनासो गरेका थिए। कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष रवीन्द्र सापकोटाले गुण्डुमा १ हजार ४ सय ८३ भूकम्पपीडितले रातोकार्ड पाए पनि २ सय ९९ घर अनुदान पाउनबाट छुटेपछि वडा कार्यालयले समन्वय गर्दै अगाडि बढेको बताउनुभयो।

पुनः सर्वेक्षणमा भूकम्पपीडित भनेर गएका ४६ वटा फाइल फिर्ता आउँदा समस्या परेको बताउँदै सधियारको सहमति ल्याएमा भूकम्पपीडितको हकमा गोरेटो बाटोमा पनि नक्सापास गर्न सकिने बताउनुभयो।

यस क्षेत्रमा ४ सय वटा भूकम्पपीडितको घर नक्सापास नभई बनेकाले समस्या परेको बताउँदै वडामा खटिएका इन्जिनियर ३ महिनादेखि नगरपालिकामा हाजिर गरेर बस्ने र वडामा फर्केर नआउने गर्दा समस्या परेको बताउनुभयो।

कार्यक्रममा राष्ट्रिय भूकम्प पुनर्निर्माण प्राधिकरण भक्तपुरका प्रमुख शिवराम गेलालले सम्झौता भए पनि कागजपत्र नपुगेकाको फाइल फिर्ता हुने र कागजी प्रक्रिया पुगेपछि अनुदान सम्झौता हुने बताउँदै सम्झौता भएकाको केही दिन भित्रै बैंकको खातामा पैसा जाने बताउनुभयो।
भूकम्पपीडितले आगामी असार मसान्तसम्म तेस्रो किस्तासमेत लिइसक्नुपर्ने बताउँदै गत मंसिरसम्म पनि गुनासो फाराम नभरेकाको हकमा अब केही गर्न नसकिने बताउनुभयो। कार्यक्रममा मानव अधिकार सञ्जाल भक्तपुरका अध्यक्ष रोशनराज अर्याल, इन्सेक भक्तपुर प्रतिनिधि सविना केसीलगायतले भूकम्प पीडितको समस्यालाई सरोकारवाला निकायले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो।

भूकम्प गएको ३१ महिना भइसक्दा पनि पुनर्निर्माणले गति लिन नसक्दा यो जाडोयाममा भक्तपुरका धेरैजसो पीडित अस्थायी टहरामै बस्न बाध्य छन्। निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ता पाए पनि अरू पैसाको अभावका कारण घर बनाउन नसक्दा भक्तपुरका भूकम्पपीडितले यसपटकको जाडोयाम अस्थायी टहरामै बिताउनुपरेको सिपाडोल ठूलेगाउँका आइते तामाङले बताउनुभयो।

भक्तपुरमा भूकम्पले २७ हजार ६ सय ४४ परिवार पूर्णरूपमा घरवारविहीन भएका थिए। जिल्लामा अहिलेसम्म पहिलो किस्ता २२ हजार २ सय ३१ लाभग्राही, त्यस्तै घर निर्माण शुरु गरेर १ हजार ४ सय ५ लाभग्राहीले दोस्रो किस्ता प्राप्त गरेका छन् भने घर निर्माण सम्पन्न गरेर तेस्रो किस्ताको रकम लिने लाभग्राहीको संख्या भने ३ सय ६२ मात्र रहेको राष्ट्रिय पुनर्निर्माण कार्यालय भक्तपुरले जनाएको छ।

टहरामा दुई वटा चिसो कट्यो, यो वर्ष पनि सकसमा बँँच्नुपर्ने स्थिति रहेको भन्दै पुनर्निर्माणका लागि सरकारले एकमुष्ठ रकम नदिँदा यस्तो समस्या भएको भूकम्पपीडित बताउँछन्।

प्रतिक्रिया दिनुहोस्