श्री लालीगुराँस सहकारीले पौने ५ करोड राजस्व तिर्यो



नेपाल समाचारपत्र
काठमाडौं
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शहरी विकास मन्त्री दिलनाथ गिरीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले संस्थाको वार्षिक कार्यक्रम तथा बजेट पारित भएको छ।

साधारणसभामा बोल्दै मन्त्री गिरीले संस्थाले सहकारी क्षेत्रमा पुर्याएको योगदानको कदर गर्नुभयो। संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले चालू आवमा सहकारीले गरेको उपलब्धि, भावी योजना, चुनौतीका चचौ गर्नु भएको थियो। उहाँले २८ वटा वाणिज्य बैंकपछि दोस्रो ठूलो वित्तीय कारोबार सहकारी संस्थाबाट भएको दाबी गर्नुभयो। कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले सहकारीबाट प्रत्यक्ष रूपमा २ लाखभन्दा बढी व्यक्तिले रोजगारी प्राप्त गरेका जानकारी गराउनुभयो। उहाँले ६५ लाखभन्दा बढी संघसंस्था तथा नागरिक सहकारीमा आबद्ध रहेको बताउँदै सहकारीमार्फत् देशको आर्थिक विकास गर्नको लागि सहकारीमैत्री कानुन निर्माण गरिनुपर्ने धारणा राख्नुभयो।

उहाँले ५ सय अर्बभन्दा बढीको वित्तिय कारोबार सहकारी संस्थाबाट भएको जानकारी गराउनुभयो। सरकारको तीन खम्बे अर्थ नीतिको लक्ष्य पूरा गर्न व्यापक रूपमा यस क्षेत्रमा लगानी वृद्धि गरी सहकारीको माध्यमबाट समग्र देशको विकास हुन सक्ने भण्डारी धारणा थियो।
संस्थाले चालू आवमा सरकारलाई ४ करोड ७१ लाख ९७ हजार १ सय ९९ राजस्व बुझाएको छ। राजस्वतर्फ समग्र सहकारी संस्थामध्ये श्री लालीगुराँस अग्र स्थानमा रहेको छ। ललितपुरको चापागाउँ, काठमाडौंको चाबहिल र भक्तपुरको कौशलटार सदस्य सुविधा काउन्टर सञ्चालन गरेको संस्थाले आव २०७३⁄७४ मा ९ करोड ७१ लाख ४६ हजार १ सय ९९ रुपियाँ मुनाफा आर्जन गरेको छ।

अघिल्लो आवमा कूल कारोबार ४ अर्ब ६२ करोड २९ लाख ६३ हजार रहेकोमा चालू आवमा ८ दशमलव २१ प्रतिशतले वृद्धि गरी ५ अर्ब २३ लाख ९८ हजार रुपियाँ पुर्याएको छ। संस्थाको आव २०७२⁄७३ मा ३ अर्ब ९२ करोड ३४ लाख २२ हजार ७ सय २७ रुपियाँ निक्षेप रहेकोमा आव २०७३⁄७४ मा ६ दशमलव ७६ प्रतिशतले वृद्धि भई ४ अर्ब १८ करोड ८६ लाख १ हजार ९ सय ६३ रुपियाँ पुगेको छ।

त्यस्तै कर्जा लगानीतर्फ ११ दशमलव ७५ प्रतिशतले वृद्धि गरी चालू आवमा ३ अर्ब ४० करोड ८ लाख ५२ हजार छ। शेयर पुँजीतर्फ १७ दशमलव १८ प्रतिशतले वृद्धि भई ३७ करोड ५५ लाख २० हजार रहेको छ। १७ हजार ८ सय ७० जना शेयर सदस्य रहेको संस्थाले चितवनको खैरहनीमा डेरी फार्म सञ्चालनमा ल्याएको छ। लालीगुराँस हस्पिटल प्रालि, श्री लालीगुराँस एजुकेसन फाउन्डेसन प्रालि, जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनी प्रालि, भैरवकुण्ड हाइड्रोपावरलगायत विभिन्न कम्पनीमा लगानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्