महोत्तरीका म्यादीको प्रशंशा



लक्ष्मी कुमार साह, महोत्तरी । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा खटिएको म्यादी प्रहरीलाई महोत्तरीमा प्रशंशा पत्र प्रदान गरेको छ । निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले प्रशंशा पत्र प्रदान गर्नुका साथै अन्तिम अनुशिक्षण समेत दिएको छ ।
प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गराउन झण्डै दुई महिने जागिर पाएका म्यादी प्रहरीहरुको जागिर अवधि समाप्त भएकाले सो प्रशंसा पत्रलगायत अन्तिम अनुशिक्षण दिईएको हो । महोत्तरीमा खटि आएको दुई हजार ७ सय ५१ म्यादी प्रहरीलाई प्रशंसापत्रका साथै अन्तिम अनुशिक्षण दिएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी बालकृष्ण पोखरेलले म्यादी प्रहरीले झन्डै दुई महिना अवधि प्रहरीहरुसँगै खटि आफ्नो दिएको योगदान बहूमूल्य रहेको बताउँदै प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा उनिहरु भयरहित, निष्पक्ष, विश्वासनीय र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनमा ईमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेको कार्य प्रशंसनिय भएको जानकारी गराए । साथै उनले महोत्तरीमा खटिएको सम्पूर्ण म्यादी प्रहरीहरुको सफल भविष्यको शुभकामना समेत व्यक्त गरेका छन् ।
महोत्तरीमा कार्यरत म्यादी प्रहरीले कुल ४९ हजार ६ सय ४० को १ प्रतिशत कर र पोशाकको २ हजार ९ सय गरि जम्मा ३ हजार ३ सय ९६ काटी बाँकी हुन आउने रकम ४६ हजार २ सय ४३ रुपैया पाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यता महोत्तरी जिल्लाको जलेश्वर, बर्दिवास, गौशाला, रामगोपालपुर, र वलवा नगरपालिकामा म्यादी प्रहरीहरुलाई प्रहरी नायव उपरिक्षक र प्रहरी निरीक्षक ओहदाका अधिकारीहरुले विभिन्न स्थानहरुमा समेत प्रसंसापत्रका साथै अन्तिम अनुशिक्षण दिएको हो ।

प्रतिक्रिया दिनुहोस्