‘ऐन, कानुन र प्राविधिक अभावले विकास निर्माणको गति सुस्त’



गणेश घिमिरे, इलाम । लामो समयदेखि जनप्रतिनिधि बिहीन रहेका स्थानीय तहले इलाममा पाँच महिनाअघि नेतृत्व पाए । यसअघि कर्मचारीका भरमा मात्र चलेकाले विकासका काम हुन नसकेको गुनासो व्यापक थियो । तर, प्रतिनिधि आउँदा पनि सर्वसाधारणलाई प्रत्यक्ष राहत पुग्ने खालका काम भएको देखिँदैन ।

कतिपय स्थानमा दलबीच मनमुटावले सोचे जसरी कामअघि बढ्न सकिरहेको छैन । जसले गर्दापनि विकास निर्माणले इलाममा गति लिन सकेको छैन । काम गर्न चाहने जनप्रतिनिधिहरू पनि सुरुमा ऐन कानुनको ढिलासुस्ती र अलमलमा परेभने अर्कोतिर प्रतिनिधि र प्रदेशसभा चुनावले पनि विकास निर्माणका कामलाई प्रभावित बनायो । ‘निर्वाचित भएपछि ऐन, कानुन अभाव तथा प्रतिनिधि र प्रदेशसभा चुनावले पनि कामको गतिलाई रोक्यो,’ सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले भने, ‘प्राविधिक र कर्मचारी अभावले कामलाई गति दिन अझै सकिरहेका छैनौ ।’ अब विकास निर्माणको कामले गति लिने उनले बताए । इलाममा चारनगरपालिका र छटा गाउँपालिका छन् ।

जिल्लाका सबै तहले ढिलै भएपनि सामाजिक सुरक्षा र बिकास निर्माणका कार्यलाई अगाडि बढाउन थालेको जनाएका छन् । विद्युत, सिँचाइ, सडक र खानेपानीलाई प्राथमिकता दिएर काम समेत थालिसकेको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । ‘ऐन कानुनको अभाव, प्राविधिक र कर्मचारीको कमीका बाबजुद पनि विकास निर्माणको कामलाई ढिलै भएपनि सुरु गरेका छौं’ रोङ गाउँपालिकाका अध्यक्ष शम्सेर राईले बताए । जिल्लाका दशै स्थानीय तहका प्रमुखहरुले कुनैपनि हालतमा विकास निर्माणको रकम फ्रिज हुन नदिने जनाएका छन् ।

अहिले आर्थिक ऐन निर्माण गरी आयस्रोत जुटाउने काममा पनि गाउँपालिका तथा नगरपालिका जुटेको छ । ‘जनप्रतिनिधि आएपछि विकासको ओइरो लाग्छ भन्ने थियो, तर हैन रहेछ’ माइजोगमाई गाउँपालिका १ का प्रदिप राईले भने, ‘बाटोघाटो, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्यको विकास यहि पाराले पाँच बर्षसम्म हुन्छ भन्ने कुनै ग्यारेन्टि छैन ।’ इलाम नगरपालिकामा पनि जनप्रतिनिधि आएपछि उल्लेख्य काम हुन सकेको छैन ।

चुनावका बेला सुरक्षित अनि व्यवस्थित पर्यटकीय सहर, खानेपानीको स्वच्छ अनि सहज बितरण, ‘स्मार्ट िसटी’ बनाउने सम्मका नारा सुनिन्थे । तर, ती वाचा र प्रतिबद्धता पुरा गर्ने सुरसार तर्फ जनप्रतिनिधि नदेखिएको नगरबासिहरु गुनासो गर्न थालेका छन् । ‘जनप्रतिनिधिले विधिवतरुपमा स्थानीय तह सम्हालेको पाँच महिना बितेको छ । तर जनताले देखिने गरी काम गरेको थाहा छैन’ इलामनगरपालिका २ का नन्द गुरुङ्गले भने, ‘स्थानीय तह अहिले पनि कर्मचारीले चलाए सरह नै भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्