मंगला गाउँपालिका साक्षर घोषणा



प्रताप बानियाँ, म्याग्दी
पश्चिम म्याग्दीको मंगला गाउँपालिका शुक्रबार एक समारोहबीच साक्षर गाउँपालिकाका रूपमा घोषणा भएको छ। गाउँपालिकाको ५ ओटै वडाका १५ देखि ६० वर्ष उमेर समूहका सबै निरक्षर व्यक्तिले अक्षर चिनेर पढ्न र लेख्न सक्ने भएपछि गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो।

गाउँपालिकामा रहेका १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ११ हजार ७०९ अर्थात् ९६ दशमलव ३५ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि गाउँपालिकालाई साक्षर घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय म्याग्दीले जनाएको छ। जिल्ला शिक्षा कार्यालयको संयोजन र मंगला गाउँपालिकाको आयोजनामा साक्षर घोषणा कार्यक्रम सम्पन्न गरिएको थियो। यसअघि गाउँपालिकालाई साक्षर घोषणा गर्ने अभियानमा शिक्षा कार्यालय, विद्यालय, सामुदायिक अध्ययन केन्द्र, साविकका गाविस कार्यालयले विभिन्न कार्यक्रमहरू सञ्चालन गरेका थिए।

मंगला शिक्षा क्याम्पसको प्रा·णमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले आगामी दिनमा पनि साक्षर घोषणा अभियानलाई निरन्तरता दिनुपर्ने बताए। उनले गाउँपालिका अन्तर्गत विभिन्न वडामा रहेका निरक्षर समूहलाई पनि साक्षर घोषणा गरेर साक्षरता प्रतिशत बढाउनुपर्ने बताएका छन्। कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका केसीले गाउँपालिका साक्षर भएको घोषणा एवं प्रतिबद्धता वाचन गरेका थिए।

सोही कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले नेपाल सरकारको नीतिअनुसार साक्षर घोषणा कार्यक्रम अघि बढाइएको बताएका छन्। उनले हालसम्म जिल्लाका ४३ ओटा वडा साक्षर घोषणा भैसकेको हुँदा आगामी माघ ८ गते म्याग्दी जिल्लालाई नै साक्षर जिल्ला घोषणा गरिने जानकारी दिए।

१ नगरपालिका, ५ वटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा हालसम्म ४३ वटा वडालाई साक्षर घोषणा गरिसकिएको छ। आगामी माघ ८ गते म्याग्दी जिल्लालाई नेपालको ३९औं साक्षर जिल्लाका रूपमा घोषणा गर्ने तयारीलाई समेत तिब्रता दिइएको छ। कुल ९६ दशमलव २७ प्रतिशत जनसङ्ख्या साक्षर भएको जिल्ला शिक्षा कार्यालयको तथ्यांक रहेको छ।

कार्यक्रममा मंगला स्रोतकेन्द्रका स्रोतव्यक्ति डेकबहादुर बानियाँले गाउँपालिकाको साक्षरता प्रगति विवरण प्रस्तुत गरेका थिए। कार्यक्रममा मंगला शिक्षा क्याम्पसका विद्यार्थीहरूले गीतसंगीत र नृत्य प्रस्तुत गरेका थिए। औपचारिक कार्यक्रम शुरु हुनुपूर्व कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, जनप्रतिनिधि, शिक्षक, विद्यार्थीलगायत सहभागी र्यालीले बाबियाचौर बजारको परिक्रमा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्