४० वर्षमा ३० किलो, छैठौ सन्तान जन्माउन खोज्दा मृत्यु



कुमार श्रेष्ठ, बाँके ।
गनापुरकी सोनापति कल्हरका पाँच सन्तान छन् । ढल्किदो उमेर र स्वास्थ्य अवस्था नाजुक रहेकी सोनापति छैठौ पटक गर्भवती भइन् ।

सुत्केरी बेथा लाग्यो । गनापुर स्वास्थ्य चौकीमा लगियो । स्वास्थ्य चौकीकी इन्चार्ज आरती चौधरीले गर्भको आठ महिनामै अवस्था जटिल छ । राम्रो अस्पतालमा सुत्केरी गराउन लैजानु भनिसकेकी थिइन् । स्वास्थ्य चौकीमा लैजाने बित्तिकै भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा रिफर गरियो । परिवारले सोनापतिलाई भेरीबाट भगाएर फेरि गनापुरमा स्वास्थ्य चौकीमा ल्याए । त्यसको केही समयपछि उनको मृत्यु भयो ।

४० वर्ष उमेर कटेकी सोनापति ३० किलोकी थिइन् । सुत्केरी बेथा लाग्नु अघि तीन दिनदेखि ज्वरो आएको थियो । पुरानो टिवी बल्भिएको थियो ।

बेलहरीकी २१ वर्षीया राधा गोडियाको गर्भवती अवस्थामा मृत्युभयो । २० वर्ष नपुग्दा पहिलो सन्तान जन्माएकी गोडियाको श्वासप्रश्वासग्रस्त, रक्तअल्पता र पोषणको अवस्था अत्यन्त कमजोर थियो । गर्भ रहेको चौथो महिनामा उनको मृत्यु भयो । गनापुरकै अनिता चौहानको भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा सुत्केरी गराएर घर गएको १८ दिनमा मृत्युभयो । चौहानको मृत्यु के कारणले भन्ने पत्ता लागेको छैन ।

साविकका गनापुर र बेलहरी गाविस अहिले जानकी गाउँपालिकामा पर्छन् । चालु आर्थिक वर्षमा यो गाउँपालिकाबाट तीन जना गर्भवती/सुत्केरीको मृत्यु भइसकेको छ । जिल्लाभरमा ६ जनाको मृत्यु भएको छ । गनापुर स्वास्थ्य चौकीले साउनदेखि कात्तिकसम्ममा ७७ जनालाई सुत्केरी गराएको छ ।

कलिलो र ढल्किदो उमेरमा सन्तान रहर, पोषण अवस्था नाजुक, बालविवाह, धेरै सन्तान जन्माउने हुनाले बाँके मातृदरमा देशभरमै अगाडि आएको छ । बाँकेमा पनि जानकी गाउँपालिका अग्रणी भएको छ । जानकी गाउँपालिकामा पाँच वटा स्वास्थ्यचौकी र एउटा उपस्वास्थ्य चौकी छन् । तीन वटा बर्थिङसेन्टर छन् । स्वास्थ्यको अवस्था नाजुक रहेपनि गाउँपालिकाले २६ करोडको बजेट बनाउदा स्वास्थ्यमा ७१ लाखमात्रै छुट्याएको छ । १५ प्रतिशत बजेट छुट्याउनु पर्नेमा यो गाउँपालिकामा एक प्रतिशत बजेट छुट्याइएको छ ।

सर्वव्यापी स्वास्थ्य कभरेज दिवसको अवसरमा गाउँपालिका आयोजना गरेको आधारभूत स्वास्थ्य सेवा सम्बन्धी सरोकारवालासँगको अन्तरक्रियामा स्वास्थ्य चौकीमा कर्मचारी अभाव र पूर्वाधार निर्माणमा जोड दिन आग्रह गरिएको छ ।

गाउँपालिकाका प्रमुख रामनिवास यादव, उपप्रमुख भूमिसरा धिताल, कार्यकारी अधिकृत पृथ्वीभक्त गिरी, स्वास्थ्यफाँट प्रमुख गिरबहादुर गुरुङले स्वास्थ्य अवस्था सुधारमा लागि परेको बताउनुभयो । सेभ द चिल्ड्रेनका दिपेन्द्रसिंह ठकुरी, गाउँपालिकाका स्वास्थ्य फाँट सहसंयोजक दलबहादुर रानाले प्रजनन्, मातृ सेवा, नवशिशु सेवा प्रभावकारी, सर्ने÷नसर्ने रोग कम गर्ने, स्वास्थ्य बीमा बृद्धि गर्ने, सरकारी सेवाबाट कोही पनि नछुटुन् भन्नका लागि दिवस मनाएको बताउनुभयो । नेपालमा मातृ दर २०३० सम्ममा ७० मा मृत्युदर झार्ने दिगो विकासको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्