नेतृत्वको राजीनामा समस्याको समाधान होइनः महामन्त्री कोइराला



चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको बताएका छन् ।

गैँडाकोटस्थित आफ्नै निवासमा बुधबार बिहान पत्रकारसँग विशेष कुराकानी गर्दै उनले अहिलेको अवस्थामा हामी खण्डित होइन एकीकृत हुनुपर्ने बताए ।

केन्द्रमा बृहत् छलफल गरेर पार्टीले रणनीति तयार गरी अघि बढ्ने भन्दै उनले भने, ‘नेतृत्व परिवर्तनको विषयमा पहिला छलफल गरौं, त्रुटि हेरौं त्यसपछि मात्रै कुरा आउँछ ।’ नेतृत्वको राजीनामा हुनुपर्ने माग पनि उठेको छ नि भन्ने एक प्रश्नमा उनले भने, ‘अहिलेको समयमा परामर्श गरौं, कांग्रेस शुद्धीकरण गराँै अनि निर्णय गरौं।’

पार्टीको महामन्त्रीको हिसाबले निर्वाचनमा पराजय भएकामा आफू पनि जिम्मेवार भएको उनले बताए । अब कांग्रेसले के गर्छ भन्ने अर्को एक जिज्ञाशामा उनले भने, ‘केन्द्रीय समितिमा छलफल हुन्छ । संगठनलाई अब चुस्त र दुरुस्त बनाउनतर्फ लाग्नुपर्छ । परिवर्तन गर्नुपर्छ भन्ने भनाइ हो ।’ उनले थपे, ‘क्रियाशील सदस्यता वितरण त्रुटिपूर्ण देखिन्छ त्यसमा ध्यान दिनुपर्छ ।’

महामन्त्री कोइरालाले आउँदा दिनमा संगठनलाई सुदृढ गर्दै विधानमा समेत परिवर्तन गर्न आवश्यक रहेको बताए हार बेहोर्नुको मुख्य कारण वाम गठबन्धन र पार्टीभित्रको संगठन चुस्त–दुरुस्त नभएको भन्दै उनले भने, ‘हाम्रो गठबन्धन कमजोर भएका कारण हार बेहोर्नु परेको छ ।’

हारका कारण हतास हुन नपर्ने भन्दै उनले भने, ‘हतास हुनु हुँदैन, संगठित भएर नेता कार्यकर्ता लागे कांग्रेसको भविष्य उज्ज्वल छ ।’ महामन्त्री कोइरालाले थप्नुभयो, ‘काँग्रेस समाप्त भएको छैन । गुटको अन्त्य गरेर सच्चिने काँग्रेसका लागि अन्तिम मौका हो ।’

प्रतिक्रिया दिनुहोस्