बैतडीका नवनिर्वाचित सांसद घरदैलो अभियानमा



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीका नवनिर्वाचित जनप्रतिनिधिहरुले निर्वाचित भईसकेपछि मतदाताको घरदैलो अभियान सञ्चालन गरेका छन् । नवनिर्वाचित सांसदहरुले जिल्लाका सबै १० स्थानिय तहमा गएर घरदैलो तथा भेटघाट कार्यक्रम गरिरहेका हुन् ।

मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्न र उनीहरुका माग,समस्या संकलन, सुझाव, सल्लाहका लागि घरदैलो अभियान सञ्चालन गरिएको प्रदेशसभा क्षेत्र नं २ का सांसद लीलाधर भट्टले बताउनुभयो । उहाँले भन्नुभयो“ निर्वाचित भए लगत्तै कार्यतालिका नै बनाएर आफूहरुले जिल्लाका विभिन्न स्थानमा मतदाताहरुलाई भेट्ने कार्यक्रम राखेका छौं ।”

सामूहिक रुपमा अन्तरक्रिया गरि मतदाताहरुलाई धन्यवाद दिनका लागि तीनैजना जनप्रतिनिधिहरु खटिएको समेत उहाँले बताउनुभयो । प्रतिनिधिसभाका लागि निर्वाचित सांसद दामोदर भण्डारी, प्रदेशसभा क्षेत्र नं १ का सांसद प्रेमप्रकाश भट्ट र प्रदेशसभा क्षेत्र नं २ का सांसद लीलाधर भट्ट घरदैलो अभियानमा सक्रिय भएका हुन् ।

जिल्लाको गोकुलेश्वर क्षेत्र र पुरचौंडी क्षेत्रमा कार्यक्रम सकेर सिगास गाउँपालिका, तल्लोसोराड, सुर्नया लगायतका क्षेत्रमा घरदैलो अभियान जारी रहेको बताइएको छ । मतदाताहरुका माग आगामी ५ बर्षभित्र पूरा गर्नका लागि हरदम प्रयास गर्ने प्रतिनिधिसभाका सदस्य दामोदर भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो नागरिकको चाहना अनुसार आफूहरुले काम गर्ने उहाँले बताउनुभयो । नवनिर्वाचित जनप्रतिनिधिहरुले निर्वाचित भएलगत्तै घरदैलो अभियान सञ्चालन गरेकोमा मतदाताहरु पनि खुसी भएका छन् । बैतडीमा पहिलो चरण अन्तर्गत मंसिर १० गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्