समानुपातिक तर्फ १७ प्रतिशत मत बदर



विनोद सिंह विष्ट, बैतडी ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ बैतडीमा १७ प्रतिशत मत बदर भएको छ । प्रतिनिधिसभाका लागि समानुपातिक तर्फ जम्मा ७४ हजार ७७५ मत खसेकोमा १२ हजार ७५९ मत बदर भएका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ यसरी हेर्दा प्रतिनिधिसभाका लागि समानुपातिक तर्फ १७ प्रतिशत मत बदर भएको देखाउछ ।”

यस्तै प्रदेशसभा क मा समानुपातिक तर्फ ३७ हजार ९७९ मत खसेकोमा ९०९४ मत बदर भएको छ । भने प्रदेशसभा ख मा समानुपातिक तर्फ खसेको कुल ३६ हजार ७९६ मत मध्ये ८ हजार ८४२ मत बदर भएका छन् ।

यसैविच प्रत्यक्ष तर्फ पनि जिल्लामा १२ हजार बढी मत बदर भएका छन् । प्रतिनिधिसभा तर्फ ७६ हजार १७३ मत खसेकोमा ७ हजार ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसरी हेर्दा बैतडीमा प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ ९.२६ प्रतिशत मत बदर भएको छ ।
यस्तै प्रदेशसभामा क क्षेत्रमा ३८ हजार १८ मत खसेकोमा ३ हजार १३६ मत बदर भएको छ ।

यसरी हेर्दा प्रत्यक्ष तर्फ प्रदेशसभामा क क्षेत्रमा ८.२४ प्रतिशत मत बदर भएको छ । प्रदेशसभा (ख) क्षेत्रमा ३८ हजार १५५ मत खसेकोमा २ हजार ५९० मत बदर भएका छन् । यसरी प्रदेशसभा ख क्षेत्रमा ६.७७ प्रतिशत मत बदर भएको पाइएको छ । समगमा्र प्रत्यक्ष तर्फ प्रदेशसभा र प्रतिनिधिसभामा कुल खसेको मत मध्ये ८.९प्रतिशत मत बदर भएको छ ।

मतदाता शिक्षा प्रभावकारी नहुँदा बढी मत बदर

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता शिक्षा ढिला गरी सुरु हुँदा तथा प्रभावकारी नहुँदा बदर मतको संख्या बढेको छ । बैतडीमा मंसिर १० गते पहिलो चरणमा सम्पन्न निर्वाचनका लागी कात्तिक २६ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको थियो ।

बैतडीमा १८२ मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको भएपनि स्वयंसेवकहरु नै मतदाता शिक्षाका बिषयमा अलमल हुँदा बदर मतको संख्या बढेको स्थानीयहरुले बताएका छन् । स्थानीय तहको निर्वाचनमा २.३५ प्रतिशत मात्रै मत बदर भएका थिए ।

ढिलो गरि मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनुले पनि बदर मतको संख्या बढेको हुन सक्ने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । बदर मतले निर्वाचनमा परिणाम समेत असर पुर्याउने गरेको जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो“बदर मतले गर्दा प्रतिस्प्रर्धा हुने परिणाममा फरक पार्छ ।”

मतदाता शिक्षा स्वयंसेवकहरु औपचारिकताका लागि मात्रै गाउँघरमा पुग्ने गरेकाले पनि मतदाता शिक्षा प्रभावकारी नभएको हो ।

प्रतिनिधि सभाको लागी १ र प्रदेश सभा सदस्यको लागी २ निर्वाचन क्षेत्र रहेको बैतडीमा प्रत्यक्षतर्फका सबै सिटमा वाम गठबन्धन विजयी भएको छ । समानुपातिक तर्फ पनि नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरी पहिलो पार्टी बनेको छ ।
बैतडीमा १ लाख ३२ हजार ३१९ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्