एचआईभी संक्रमित आधाजसोमात्र औषधि सेवन गर्दछन्



नेपाल समाचारपत्र,लमजुङ ।
लमजुङमा एचआईभी संक्रमित पहिचान भएका आधा जसेलेमा मात्र औषधि सेवन गर्ने गरेका छन् । जिल्लामा एड्सको नियमित औषधि सेवन एआरभी सेवा लिनेको संख्या ८९ जना रहेको छ ।

जिल्लामा एचआईभी पहिचान हुनेको संख्या दुई सय भएता पनि आधा जसोले मात्र औषधि सेवन गरिहेका छन् । जिल्लामा एचआईभी संक्रमित पहिचान भएकाहरू मध्ये ८९ जनाले नियमित रूपमा त्यसको औषधि एआरभी सेवन गरिरहेको सोही कार्यालयका एचआईभीका स्रोत व्यक्ति अमर दवाडीले बताउनु भयो । उहाँका अनुसार तीमध्ये ४४ जना वयस्क पुरुष ३४ जना वयस्क महिला तथा ९ जना बालक र ६ जना बालिका रहेका छन् ।

उहाँका अनुसार एचआईभी पहिचान हुनासाथ अनिवार्य औषधि सेवन गर्नु पर्ने नियम यसै आर्थिक वर्र्षबाट मात्र सुरु भएको हुँदा पहिले पहिचान भएकाहरू र केही अन्य जिल्लामा पायक पर्नेहरूले वा आफ्नो जिल्लामा आएर औषधि सेवन गर्दा पहिचान खुल्ने डरका कारणले पनि कतिले बाहिरी जिल्लाबाट औषधि सेवन गर्ने गरेको पाइएको दवाडीले बताउनु भयो । उहाँका अनुसार बाहिर जिल्लाबाट के कतिले औषधि सेवन गर्दछन् भन्ने रेकर्ड भने प्राप्त नभएको बताउनु भयो ।

यसअघि जिल्लामा एचआईभी संक्रमित पहिचान भएका व्यक्तिको संख्या १८४ रहेको थियो । अब त्यो संख्या बढेर दुई सय पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईले बताउनु भयो । उहाँका अनुसार संक्रमितमध्ये १३ जनाको मृत्यु भैसकेको छ । यतिबेला जिल्लामा एचआईभीको पहिचान खुलेका जीवित व्यक्तिहरूको संख्या १ सय ८७ रहेको चापागाईले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्