प्रदेश ७ मा राप्रपा शुन्य, पूर्वप्रधानमन्त्री चन्दको गृहजिल्लामा हार



विनोद सिंह विष्ट, बैतडी ।
पुर्वप्रधानमन्त्री एवं राप्रपा पुर्व अध्यक्ष लोकेन्द्र बहादुर चन्दको गृहजिल्ला बैतडीमा राप्रपा पराजित भएसंगै प्रदेश नं ७ मा राप्रपा शुन्य भएको छ ।

प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रदेश नं ७ को बैतडीबाट मात्रै प्रत्यक्षमा उम्मेद्वारी दिएको राप्रपा नतिजामा हार व्यहोरेपछी शुन्य भएको हो ।

नेपाली कांग्रेससंग मिलेर लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका गणेशबहादुर चन्द बामगठबन्धनका लीलाधर भट्टसंग पराजित भएपछि प्रत्यक्षबाट प्रदेशसभामा राप्रपाको उपस्थिती शुन्य हुने भएको हो ।

बैतडी प्रदेश सभा क्षेत्र (ख) मा नेकपा एमालेका लीलाधर भट्टसंग चन्द ५ हजार ७१ मतअन्तरले पराजित हुनुभएको हो । राप्रपाको संगठन कमजोर हुनु, अपेक्षाकृत रुपमा कांग्रेसको साथ नपाउनुले पनि पराजय भोग्नु परेको राप्रपाका केन्द्रिय सदस्य हेमबाबु लेखकले बताउनुभयो ।

उहाँले भन्नुभयो “माओवादी द्वन्दकालबाटै राप्रपाले संगठन विस्तार गर्न नपाएको र पछिल्लो समयमा पार्टी विभाजन भएपनि झन् समस्या आएको हो” बहुदलीय व्यवस्था आएपछि पनि बैतडीबाटै राप्रपाका लोकेन्द्रबहादुर चन्दले सरकारको नेतृत्व गरेका भएपनि पछिल्लो समयमा राप्रपा निकै कमजोर देखिएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रचारप्रसारका क्रममा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द गृहजिल्लामा नआएकाले पनि केही कम मत पाएको राप्रपाकै नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्