पर्वतको प्रतिनिधिसभामा गिरी, प्रदेशसभामा अधिकारी र लम्साल विजयी



दुर्गाप्रसाद शर्मा, पर्वत
पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार पदम गिरी निर्वाचित हुनुभएको छ। एमालेका युवा नेता तथा जिल्ला अध्यक्ष गिरीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्वतमा तीन पटक चुनाव जितेर ह्याट्रिक गर्नुभएका अर्जुनप्रसाद जोशीलाई मत १२ हजार ४ सय ५६ मत अन्तरले पराजित गर्दै निर्वाचत हुनुभएको हो।

प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित गिरीले ३९ हजार २ सय ७५ मत प्राप्त गरेका छन् भने पराजित जोशीले २६ हजार८ सय १९ मत पाएका छन्। जोशीलाई गिरीले फराकिलो मतान्तरले पराजित गरेपछि एउटा इतिहाससमेत कायम गर्न सफल भएका छन्। पर्वतमा निर्वाचन हार्न नजानेको भनेर जोशीलाई चित्रित गरिदै आए पनि उनलाई एमालेका युवा नेता गिरीले पराजित गरेपछि त्यो इतिहास तोडिएको हो।

यसैगरी प्रदेशसभा १ मा गठबन्धनका उमेदवार माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नेत्र अधिकारी विजयी हुनुभएको छ। प्रदेशसभा सदस्य पदमा निर्वाचित सदस्य अधिकारीले नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति नवराज गुरुङलाई ४ हजार ८ सय २३ मतको अन्तरले पराजित गरेका हुन्। निर्वाचित अधिकारीले २१ हजार ५ सय ८ मत प्राप्त गरेका छन् भने पराजित हुन पुगेका नेपाली गुरुङले १६ हजार ६ सय ८५ मत प्राप्त गरेका छन्। गुरुङ यो निर्वाचनमा पराजित भएपछि हारको ह्याट्रिक बन्न पुगेको छ। उनी २०४८ सालमा पर्वत क्षेत्र नं १ बाट पराजित भएका थिए भने २०७० मा पर्वत क्षेत्र नं २ मा पनि पराजय भोगेका थिए।

यसैगरी प्रदेशसभा २ मा एमालेका प्रदेश कमिटी सदस्य विकास लम्साल विजयी भएका छन्। लम्सालले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रहेका राजेन्द्र तिवारीलाई २ हजार १६६ मत अन्तरले पराजित गरेका हुन्। प्रदेशसभा सदस्यमा विजयी भएका लम्सालले १५ हजार ४ सय ३४ मत प्राप्त गरेका छन् भने पराजित भएका तिवारीले १३ हजार ३ सय ५२ मत प्राप्त गरेका छन्। लम्साल २०७० मा पनि पर्वत क्षेत्र नं २ बाट निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्