सुरक्षाका लागि तारजालीको घेरामा मतगणना



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिम र रुकुम पूर्व दुवै जिल्लामा सुरक्षा अवस्थालाई मध्यनजर गरेर मतगणना गरिने ठाउँमा तारजाली लगाएको छ । मतगणना भइरहेको ठाउँमा दलका प्रतिनिधिहरुलाई मतपत्र भएको ठाउँभन्दा बाहिर तारजालीले घेरेर राखिने तयारी भएको छ ।

मतपत्रको सुरक्षाका लागी प्रतिनिधिलाई जालीभन्दा बाहिर राखेर मतगणना गर्ने तयारीको लागि जिल्ला समन्वय समितिको भवनका ४ वटा कोठामा तारजालि गरिएको छ । तारजाली भन्दा बाहिर दलका प्रतिनिधि बस्ने र तारजालीभित्र मतगणना गनिने तयारी भएको छ ।

सर्वदलिय बैठक अनुसार समन्वय समितिका चार वटा कोठामा मतगणना गरिने र सबै कोठामा दलका प्रतिनिधि तारजाली भन्दा बाहिर रहने छन् । प्रतिनिधि सभाको एक र प्रदेश सभाको २ क्षेत्र रहेको रुकुम पश्चिममा भोली बिहिबार साँझ ठिक ५ बजेबाट नै मतगणना गरिने मुख्य निर्वाचन अधिकृत काजिबहारदुर राइले जानकारी दिनुभयो ।

यहाँ जिल्लाभरबाट ५५ हजार ६ सय ४५ मत खसेको छ । भने रुकुम पूर्वमा १८ हजार ३१ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्