उम्मेदवार नै एमालेमा प्रवेश



बाँके । नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बाँके क्षेत्र नं. २ प्रदेश सभा ‘क’ की उम्मेदवार रेखादेवी मिश्र एमालेमा प्रवेश गर्नु भएको हो । चुनाव प्रचार प्रसारमा सक्रिय रहेकी मिश्रले पार्टीको रणनीति र नेताहरुको व्यवहार मन नपरेकाले पार्टी परित्याग गरेको घोषणा गर्नुभयो । नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य दिनेशचन्द्र यादव, जिल्ला पार्टी अध्यक्ष अशोक कोइराला, सचिव रत्न खत्री, जिल्ला सदस्य एवं प्रचार विभाग प्रमुख किस्मतकुमार कक्षपति, रविन्द्र लम्साललगायतका नेताले अबिर लगाएर मिश्रलाई पार्टी प्रवेश गराउनुभयो । जिल्ला अध्यक्ष कोइरालाले मिश्रलाई एमालेको सदस्यता प्रदान गर्नु भएको थियो ।

‘म उम्मेदवार भएर आफ्नो प्रचार प्रसारमा निस्किए । पार्टीकै नेताहरु अर्को पार्टीको उम्मेदवारको पछि लागेको देखियो, मिश्रले भन्नुभयो, जब पार्टीको रणनीति र नेताहरुको व्यवहार राम्रो छैन भने त्यस्तो पार्टीमा बस्नुको औचित्य छैन ।’ मिश्रले देशमा बामपन्थीको स्थायी सरकार बन्ने निश्चित नै भएकाले जिल्लाको विकासमा हातेमालो गर्न आफू एमालेमा प्रवेश गरेको बताउनुभयो ।

एमालेका बैकल्पिक केन्द्रीय सदस्य यादवले अरु पार्टीका उम्मेदवार नै आफ्नो पार्टीमा प्रवेश गर्नु शुभलक्षण भएको बताउनुभयो । उहाँले पार्टीको विधि पद्धति अनुरुप मिश्रलाई व्यवस्थापन गर्ने बताउनुभयो ।
जिल्ला अध्यक्ष कोइरालाले वामगठबन्धनले देशको विकास गर्छ भन्नेमा आम जनता सचेत हुँदै गएको बताउनुभयो । ‘अहिले वामगठबन्धनको लहर नै छ । देशको माहोलले पनि दुई तिहाई जित्ने लक्षण देखाएको छ, कोइरालाले भन्नुभयो, अब देशको विकास वामगठबन्धनले गर्छ ।’

मिश्रसँगै एक दर्जन बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमालेका बैकल्पिक केन्द्रीय सदस्य यादव र पार्टी अध्यक्ष कोइरालाले सबैलाई टिका लगाएर एमालेमा प्रवेश गराउनुभयो । उम्मेदवार मिश्रको टोली एमालेमा प्रवेश गर्दा वामगठबन्धनलाई ठूलो फाइदा भएको नेताहरुले बताएका छन् ।

यसैबीच, चुनावको मिति नजिकिदै जादा उम्मेदवारलाई भ्याइनभ्याई भएको छ । उम्मेदवारहरु टोलटोलका कोण सभा र विशेष–विशेष ठाउँमा घरदैलो गरेका छन् । मौन अवधि शुरु हुन केही समय बाँकी रहेकाले सबै पार्टीका उम्मेदवारहरुको प्रचार प्रसार अन्तिम चरणमा पुगेको छ । बाँकेमा सडकमा टांगिएका प्रचार सामाग्रीहरु निर्वाचन कार्यालयले हटाइसकेको छ । वामगठबन्धनले मतदाता शिक्षालाई पनि विशेष जोड गरेको छ । दुई पार्टीको चुनाव चिन्ह हुने भएकाले बदरको संभावना बढी रहेको भन्दै वामगठबन्धनले घरघरमा टोली खटाएर मतदान गर्ने तरिका सिकाइरहेको क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ का संयोजक रविन्द्र लम्सालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्