सुध्रिँदै क्षेत्रीय अस्पताल, ७५० ग्राम तौल भएका शिशुलाई ‘जीवन दान’



शेरबहादुर थापा, सुर्खेत
मध्यपश्चिम क्षेत्रीय अस्पतालको अवस्थामा प्रभावकारी सुधार भएको छ। विगत २ वर्षभित्र अस्पतालले डाइलायसिस सेवा, आईसीयू सेवा, अक्सिजन उत्पादन, एनआईसीयूजस्ता अत्याधुनिक सेवा विस्तार भएकाले अस्पताल तंग्रँदै गएको सेवाग्राहीको भनाइ छ। अस्पतालमा अस्पताल प्रमुखको रूपमा डा. डम्बर खड्का आइसकेपछि यस्तो रूपान्तरण देख्न पाइएको हो।

७५० ग्रामको बच्चालाई बचाइयो
नेपालमै सम्भवतः पहिलोपटक ७५० ग्राम तौल भएको बच्चाको उपचार गरेर जीवनदान दिएको छ भने आमालाई लागेको खतरनाक रोग इक्ल्यामेसिया (काम्ने) बाट बचाउन क्षेत्रीय अस्पताल सफल भएको छ। सुर्खेतको छिन्चुकी डिला गिरी आर्थिक अवस्था कमजोर भएकै कारण रोगको उपचार गर्न क्षेत्रीय अस्पताल पुगेको र डक्टर तथा नर्सले छोरी र आफ्नो जीवन बचाएर जीवनदान दिएको भन्दै धन्यवाद दिन्छिन्।

अस्पतालका बाल रोग विशेषज्ञ नवराज केसी सरकारले १ महिनाभित्रको बाल मृत्युदर घटाउन निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको बताउँदै सोही सेवाका कारण झन्डै ६ लाख खर्च लाग्ने उक्त नवजात शिशुको उपचार सित्तैमा गरिएको बताउँछन्। बच्चा जन्मेको २८ दिनभन्दा पहिले कुनै पनि बच्चा अस्पतालमा उपचार गर्न आएमा उसले सरकारबाट पूर्णरूपमा निःशुल्क उपचार पाउने जानकारी दिए। उनले अस्पतालमा एनआईसीयू सेवा प्रदान गर्न थालेको २ वर्ष यता हालसम्मकै कम तौल भएको बच्चा गिरीले जन्माएको र उक्त नवजात शिशुलाई डा. अनिता दाहालको अत्यन्तै सक्रियताका कारण बचाउन सकिएकाले बच्चाको नाम पनि सुनिता राखिएको जनाए।

यता, कम तौल भएको बच्चाको जन्म भइसकेपछि उसलाई जीवनदान दिन अहोरात्र खटेकी डा. सुनिता दाहालले बालकलाई अक्सिजन दिइएको, शरीरको तापक्रममा ध्यान दिइएको, एन्टिबायोटिक्स औषधी, नाकबाट पाइप पेटमा छिराएर खानेकुरा खुवाइएको, भारतबाट क्पाफ्टेन नामक औषधी मगाएर उपचार गरिएकोले बच्चा र आमालाई बचाउन सकिएको बताइन्। ‘करिब १० हप्तापहिले नै बच्चा जन्मिएको त्यो पनि कम तौल भएको बच्चा भएकाले यस्ता घटनामा आमा र बच्चा दुवैको ज्यानको खतरा हुन्छ’, –उनले भनिन्– नेपालमै पहिलो पटक यस्तो बच्चालाई बचाउन सकिएको छ।

अस्पतालमा यसअघि १ किलो, ११ सय ग्राम र १२ सय ग्राम तौल भएका बच्चालाई पनि सफल उपचारका साथ जीवनदान दिइएको अस्पतालका सुपरिटेण्डेन्ट डम्बर खड्काले जानकारी दिए। उनले डिला गिरी करिब साढे दुई महिना उपचार गरेर आज डिस्चार्ज हुँदासम्म बच्चाको तौल १ किलो ५ सय ग्राम पुगेको बताए। उनले भने– ‘विशेषज्ञहरूको टिमले अब बच्चालाई कुनै खतरा नभएकाले डिस्चार्ज गर्न लागेका हौं।’ –डा. खड्काले अहिले बालकले आमाको दुध खान थालेको, शरीरको तापक्रमसमेत सही भएको र अन्य सबै अंगले काम गरिरहेका कारण उनलाई डिस्चार्ज गर्न लागिएको बताए। उनले डिला गिरीको उपचार गर्न अन्यत्र गएको भए कम्तीमा ४ लाख र छोरीको उपचार गर्न गएको खण्डमा कम्तीमा ६ लाख रकम लाग्ने तर क्षेत्रीय अस्पतालमा निःशुल्करूपमा गरिएको बताए।

डा. खड्का अन्य निजी क्लिनिकभन्दा क्षेत्रीय अस्पतालमा नवजात शिशु ल्याउन आग्रह गर्छन्। उनी भन्छन्– ‘एक महिनाभन्दा कम उमेरका बच्चालाई अस्पतालले निःशुल्क उपचार गर्दै आएको छ। जस्तोसुकै रोग भए पनि निःशुल्क उपचार हुने हुँँदा यसको लाभ लिन सबैलाई आग्रह गर्दछु।’

डा. डम्बर खड्काले आफू अझै २ वर्ष अस्पतालमै क्रियाशिल हुने बताउँछन्। उनी भन्छन्– ‘विगत दुई वर्षमा धेरै सेवा थप भएको छ, अब केही दिनमा सिटी स्क्यान सेवा पनि आरम्भ गर्नेछौं।’ आफू यही क्षेत्रको भएकाले पनि मनमा केही गरेर जाने हिम्मत आएको उनको भनाइ छ। उनले अहिले अस्पताल आफैंले दिनहुँ ९ ओटा सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको र निकट भविष्यमा अक्सिजनसमेत विक्रीवितरण गर्ने योजना रहेको सुनाए। यस्तै अहिले अस्पतालका सबै कोठामा पाइपमार्फत् अक्सिजन पु¥याइएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्