हुम्लामा महिला मतदाता बढी



अर्जुन बोहरा सिमकोट, हुम्ला
पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा हुम्लामा पुरुषभन्दा महिलाको संख्या २ सय २० मतदाता बढी देखिएको छ। गत मंसिर १० गते आइतबार सम्पन्न भएको निर्वाचनमा हुम्लाका ५२ वटा मतादान केन्द्रमा जम्मा २२ हजार ७ मतदाताले भोट खसालेका छन्।

जिल्लामा कुल २७ हजार ७ सय ३५ मतदाता रहेकामा ५ हजार ७ सय २८ मतादाता घटेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निर्वाचन अधिकारी प्रदीपसिंह धामीले बताउनुभयो। उहाँले यस जिल्लामा ८० दशमलव १५ प्रतिशत मत खसेको बताउनुभएको छ। जसमा पुरुष १० हजार ८ सय ९३ र महिला ११ हजार १ सय १३ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत मेधनीप्रसाद शर्मा पौडेलले जानकारी दिनुभएको छ।

अहिले सिमकोटमा आइपुगेका मत पेटिकालाई अहिले जिल्ला समन्वय समितिको हलमा सुरक्षितरूपले विशेष सुरक्षाकासाथ राखिएको बताइएको छ। सबै मतपेटिका ल्याए पनि केही मतदान अधिकृत भने आउन नपाएको गुनासो गरेका छन्। योभन्दा पहिला बसेको सुरक्षा समितिको बैठकले एक जना मतदान अधिकृत मात्र हेलिकोप्टरमा ल्याउने निर्णय भएकाले पनि सबै मतदान अधिकृत आउन नपाएको बताइएको छ।

गत वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा पुरुषको मतदाता संख्या महिलाको भन्दा बढी भएकोमा यस पटक मतदाता संख्यामा कमी आएको जिल्ला निर्वाचन अधिकारी धामीले बताए। उहाँका अनुसार जिल्लाबाहिर विभिन्न पेसा व्यवासायले पनि पुरुषहरू बाहिरिनुकै कारण र महिला मात्रै जिल्लाबाहिर जाने संख्या कमी भएकाले पनि महिलाको सख्ंया बढी देखिएको बताउनुभयो।।

तीन घेरामा कडा सुरक्षा
हुम्लामा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका मतपेटिकालाई तीन वटा सुरक्षा घेरामा राखिएको छ। हुम्ला जिल्लाको समन्वय समितिको अतिथिकक्षमा कडा सुरक्षाका साथ मतपेटिका राखिएको हुनाले जो कसैलाई आवतजावतमा समेत ठप्प बनाएको छ।

मतपेटिकालाई सुरक्षा दिनका लागि अतिथिकक्ष वरिपरि जनपथ प्रहरी, बीचमा सशस्त्र र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताउनुभयो। मतपेटिका राखेका कोठामा सुरुक्षाको लागि र मुसाको डरले औषधीको पनि व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद शर्मा पौडेलले बताउनुभयो। मुसाबाट हुन सक्ने क्षतिका लागि सर्वदलीय सहमतिअनुसार मतपेटिका राखेका कोठामा निरीक्षण गर्ने सहमतिसमेत भएको बताउनुभयो।

सबै मतपेटिका सदरमुकाम सिमकोटमा रहेको मुख्य निर्वाचन कार्यालयमा ११ गते उम्मेदवारका प्रतिनिधिको रोहवर मुचुल्का तयार पारी तीन वटा मतपेटिका राखिएका कोठामा शिलबन्दीसमेत गरिएको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी राज शाहीले बताए। उहाँका अनुसार मुख्य निर्वाचन कार्यालयको तालासहित मतपेटिका राखिएका कोठामा दलका उम्मेदवारका एजेन्डाले आ–आफ्नै तालासमेत लगाएको जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्