भूकम्पपीडितलाई चिसोका कारण हुने रोगको समस्या



चिरञ्जीवी मास्के, दोलखा

चिसो मौसम शुरू भएपछि दोलखाका विभिन्न स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो, दम र निमोनियाका बिरामीहरूको संख्यामा वृद्धि भएको छ। भूकम्पपछि अहिले पनि अधिकांश दोलखाली टहरामै बसिरहेकाले पनि चिसो मौसम शुरू भएपछि यस्ता बिरामीको संख्यामा वृद्धि हुने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

सदरमुकाम चरिकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) मा केही दिनदेखि उपचार गराइरहेका दोलखा मेलुङ गाउँपालिकाको भेड्पु निवासी दमका बिरामी ८० वर्र्षीय तुलानारायण श्रेष्ठले भुकम्पपछि जस्ताको टहरामा बस्दै आएको र चिसोकै कारण दुई वर्षदेखि दमको समस्याबाट पीडित भएको गुनासो सुनाए। ‘घर बनाउन पैसा छैन, टहरामा बस्दा चिसो मौसममा दमले उठ्न बस्नै नसक्ने बनाउछ’ – दृष्टिविहीनसमेत रहेका जेष्ठ नागरिक तुलानारायणले बताए।

दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ तार्थलीकी सरिता थापा पनि केही दिनदेखि रुघाखोकीको कारण बिरामी परेकी छन्। चरिकोट अस्पतालमा उपचारको लागि पुगेकी सरिताले जस्ताको छाना भएको टहरामा बिहानीपख शित पर्ने भएकाले बिरामी परेको बताइन्। भूकम्पपछि टहरामै बस्दै आएकी सरिता हरेक वर्ष चिसो मौसममा समस्या हुने बताउँछिन्। ‘स्थायी आवास बनाउन आर्थिक समस्या छ’, सरिताले भनिन्– ‘टहरामा बस्नु परेकोले हरेक वर्ष चिसो मौसममा बिरामी परिन्छ।’

चिसो मौसमपछि उपचारमा आउने दम, रुघाखोकी, निमोनियाबाट पीडित बिरामीहरूमा महिला, जेष्ठ नागरिक र बालबालिकाकोे संख्या बढी रहेको प्रस्तावित चरिकोट अस्पतालका डाक्टर अनमोल श्रेष्ठले बताए। सदरमुकाम चरिकोटको प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) मा कात्तिक महिनामा उपचारको लागि आएका बिरामीमा दमका २२ जना रहेका थिए जसमा १४ जना, रुघाखोकीका १ सय ५० जना र निमोनियाका ७ जना रहेको अस्पतालका सिनियर अहेव एवं सूचना अधिकृत शान्तिप्रसाद न्यौपानेले बताए। प्रस्तावित चरिकोट अस्पतालमा आर्थिक वर्ष ०७४÷०७५ को कात्तिक महिनासम्म दमका १ सय २४ जना, निमोनियाका ५४ जना र रुघाखोकीका ८ सय १३ जना बिरामी उपचारका लागि आएको न्यौपानेले बताए।

प्रस्तावित चरिकोट अस्पतालका डाक्टर अनमोल श्रेष्ठ अस्पतालमा दैनिक १५/२० जना दम, रुघाखोकीजस्ता चिसोका कारण हुने रोगबाट पीडित बिरामी आउने गरेका छन्। जिल्ला स्वास्थ्य कार्यालय दोलखामा रहेको तथ्यांकअनुसार आर्थिक वर्ष ०७४÷०७५ को असोजसम्म जिल्लामा दमका ४ सय ४२, निमोनियाका ५७ र रुघाखोकीका ६ सय ७२ जना बिरामीले उपचार गराएकोे जिल्ला स्वास्थ्य कार्यालय दोलखाका तथ्यांक शाखाका फोकल पर्सन भोजराज जोशीले बताए। भूकम्पपछि जिल्लाका धेरै परिवार टहरामै भएकोले पनि यस्तो समस्या भएका बिरामी धेरै हुने गरेको श्रेष्ठको भनाइ छ।

चिसो मौसममा जेष्ठ नागरिक, महिला, बालबालिकालगायत सबैले तातो पानी पिउने, झोलिलो कुरा धेरै खाने, चिसो नलाग्ने गरी कपडा लगाउने जस्ता सर्तकता अपनाउन सके चिसोबाट बच्न सकिने डाक्टर श्रेष्ठ बताउँछन्।

दोलखा जिल्लामा भूकम्पका कारण ६२ हजार ८ सय ३३ घरधुरी क्षतिग्रहस्त भएकोमा ५५ हजार १ सय ९२ घरधुरीले सरकारले दिने ३ लाख अनुदान सम्झौता गरेका छन्। त्यसरी अनुदान सम्झौता गरेका भूकम्पपीडितहरूमा ५३ हजार ३ सय ८८ घरधुरीले पहिलो किस्ताका लागि सम्झौता गरेका छन् भने १३ हजार २ सय १७ घरधुरीले दोस्रो किस्ता र ३ हजार १ सय ६६ घर धुरीले तेस्रो किस्ताका लागि सम्झौता गरेको भूकम्पीय आवास पुनर्निर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन एकाई दोलखाका टीका जोशीले बताए।

भूकम्पले क्षति भएका ६२ हजार ८ सय ३३ घरधुरीमा १३ हजार ४ सय ९६ घर मात्र पुनर्निर्माण भएकाले दोलखाका करिब ५० हजार घरधुरीका बासिन्दा अझै टहरामै बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्