पर्सामा चुनावी भीडन्त: कांग्रेसलाई मधेसवादीको डर, माओवादीलाई एमालेकै भर



कृष्णउदास खनाल, वीरगन्ज
मंसिर २१ गते नजिकिँदै गर्दा पर्सामा चुनावी सरगर्मी पनिह्वात्तै बढेको छ। करिब दुई महिनाअगाडि मात्रै स्थानीय तहको निर्वाचनमा मतदान गरेका पर्साका मतदाताहरू पुनः मतदान गर्ने दिनको प्रतीक्षामा रहेका छन्।
मतदाता मतदानका लागि प्रतीक्षामा रहे पनि उम्मेदवारहरू भने रातदिन नभनिकन प्रचारप्रसारमा व्यस्त देखिएका छन्। पर्सामा मुख्य राजनीतिक दलहरूका बीचमा नै तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ। खास गरी लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस, मधेसवादी गठबन्धनबाट फोरम र वाम गठबन्धनबाट एमाले पर्सामा बलियो रहेको पाइएको छ। पर्साको प्रतिनिधिसभाका लागि ४ र प्रदेशसभाका लागि ८ वटा निर्वाचन क्षेत्र तय गरिएकोमा सबै निर्वाचन क्षेत्रमा दलका उम्मेदवारहरूको एक अर्काको डर र भर रहेको पाइएको छ।

अन्तिम समयमा आएर लोकतान्त्रिक गठबन्धनसँग एकता गर्न असफल भएको फोरम र राजपाको गठबन्धन पनि पर्सामा भने कांग्रेसकै लागि डरको विषय बनेको छ। पर्साको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका अनिल रुंगटा उठेका छन्। उद्योगीसमेत रहेका रुंगटालाई फोरमका प्रदीप यादव र वामका विचारी यादवले पछाडि पार्लान् भनेर कांग्रेसजन भिडिरहेको देखिन्छ।

पुरानो पार्टी भएका नाताले र माडवारी समुदायका भएकाले अनिलले चुनाव जित्ने सम्भावना रहेको कांग्रेसी कार्यकर्ताहरूको बुझाइ छ। यद्यपि स्थानीय चुनावमा मेयरको पद हत्याउन सफल फोरमले पनि चुनाव सहजै जित्ने फोरमका कार्यकर्ताहरूको तर्क छ। उता वाम एक ठाममा भएकाले र विचारी स्वच्छ छवीका भएकाले चुनाव जित्ने वामहरूको तर्क छ। पर्साको क्षेत्र नम्बर २ मा पनि कांग्रेसबाट अजय चौरसिया, फोरमबाट विमल श्रीवास्तव र वामबाट अमहद सलिम उठेका छन्। यहाँ पनि त्रिपक्षीय भीडन्तको अवस्था देखिएको छ। क्षेत्र नम्बर ३ मा कांग्रेसका जिल्ला सभापतिसमेत पटक–पटक भएका र मन्त्रीसमेत बनेका सुरेन्द्र चौधरी कांग्रेसबाट र वामबाट राजकुमार गुप्ता तथा फोरमबाट ठेकेदारसमेत रहेका हरिनारायण रौनियार चुनावी मैदानमा छन्।

चार नम्बर क्षेत्रको भीडन्त पनि रोचक छ। कांग्रेसबाट प्रभावशाली नेता रमेश रिजाल, वामबाट मन्त्री भइसकेकी उर्मिला अर्याल र फोरमबाट राजपाका प्रभावशाली नेता लक्ष्मणलाल कर्ण चुनावी मैदानमा उत्रिएका छन्। पर्सा जिल्लाको सवालमा शीर्ष नेताहरूको भीडन्त ४ नम्बर क्षेत्रमा देखिएको छ। वाम गठबन्धनको अली बढी पटक जस्तो देखिएको क्षेत्र नम्बर ४ मा उर्मिला अर्यालबाट एमाले र माओवादीसमेत रुष्ट भएका कारण आफूले सहजै जित्ने कांग्रेसको बुझाइ छ।

प्रतिक्रिया दिनुहोस्