मधेसको माग पूरा गर्ने हैसियत कांग्रेससँग मात्रै छः रिजाल



नेपाल समाचारपत्र
वीरगन्ज
पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का लागि नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश रिजालले तराई र मधेसबासीका मागहरू पूरा गर्ने हैसियत नेपाली कांग्रेससँग मात्रै भएको बताउनुभएको छ।

क्षेत्र नम्बर ४ अन्तर्गतको मिर्जापुर, झलमहिया, भलुवहियालगायतका ठाउँहरूमा भएको घरदैलो पश्चात् बन्जारीमा सम्पन्न कोणसभालाई सम्बोधन गर्दै नेता रिजालले सो कुरा बताउनुभएको हो। सम्बोधनका क्रममा नेता रिजालले लोकतन्त्रलाई बचाई राष्ट्रलाई बलियो बनाएर मधेस र मधेसीको एजेन्डालाई पूरा गराउन सक्ने हैसियत कांग्रेससँग मात्र भएको बताउनुभयो।

चुनावी सभामा उहाँले वाम एकता वामपन्थीहरूकै लागि घातक हुने बताउँदै भन्नुभयो– ‘अब नेपाली जनताले लोकतन्त्रलाई समाप्त पार्न खोज्नेहरूलाई तह लगाएरै छोड्ने बेला आएको छ, यो चुनावले यसको छिनोफानो गर्छ।’

कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमेश रिजाल तथा प्रदेशसभा सदस्य पदका उम्मेदवार वशिष्ठनारायण कुर्मी, रमेश पाण्डेय, वृहपतिकृष्ण श्रेष्ठ, बलिस्टर अहमद, इमरान आलम, रामाशिष पटेल, सोधा पटेल, श्रीकान्त यादव, रामदेव चौहान, भूपेन्द्र तिवारीलगायतका नेता तथा कार्यकर्तासहित सयौंको संख्यामा स्थानीयबासीको सहभागिता रहेको थियो।

यसै बीच नेता रिजालले मंगलबार क्षेत्र नम्बर ४ अन्तर्गतको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुर, बुडगाँई, झलमैयालगायतका ठाउँहरूमा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्