मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम



हिक्मत नेपाली, दैलेख । दैलेखमा मसिंर २१ गते दोस्रो चरणमा हुने प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागी खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई बिहीवार बाट तालिम सञ्चालन गरिएको छ ।
जिल्लामा १ सय ३६ मतदान स्थलको १ सय ९६ मतदान केन्द्रमा खटिने ४ सय १४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत लाई तालिम दिइएको जिल्ला निर्वाचन कार्यालय दैलेखका प्रमुख भक्त बहादुर कार्कीले जानकारी दिएका छन् ।
दुई दिन सम्म सञ्चालन हुने तालिममा मतदान केन्द्रको निर्माण, मतपेटिकाहरु राख्ने ठाउँ, रुजु गर्ने लगायत मतदान कार्यलाई ब्यवस्थित गर्ने तरिकाको बारेमा सिकाईने छ । निर्बाचनमा खटिएर गैसके पछि निष्पक्ष तरिकाले काम कसरी गर्ने भन्ने बिषयमा तालिम दिईएको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिएका छन् । तालिममा अध्यापन बिधि र नमुना मतदान केन्द्र निमार्ण गराएर ब्यवहारिक ज्ञान बाट सिकाईने छ । दैलेखमा चुनावमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको नाम गोलाप्रथाबाट छनौट गरेको थियो ।
४ नगरपालिका र ७ गाउँपालिका सहित ११ स्थानीय तह रहेको दैलेखमा १ लाख ३९ हजार ९ सय ४४ मतदाताले यसपटक २ जना प्रतिनिधि सभा सदस्य र ४ जना प्रदेश सभा सदस्य निर्वाचित गराउने छन् ।

प्रतिक्रिया दिनुहोस्