शिक्षालाई प्रभावकारी बनाउन विद्यार्थीलाई दिनहुँ खाजा र न्यानो कपडा



हेटौंडा,(नेस),
पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ६, ७ र ८ का १६ वटा विद्यालयमा अध्ययनरत् ९ सय ५४ चेपाङ, तामाङ र दलित छात्राले कठ्याँङ्गिदो जाडोमा न्यानो कपडा प्राप्त गरेका छन् ।

लिसा हिमालया ईभी जर्मनीसँगको सहकार्यमा दीगो विकासका लागि एकता नेपाल नामक गैरसरकारी संस्थाले न्यानो कपडाअन्तर्गत् प्रतिविद्यार्थी कुर्तासुरुवाल, ज्याकेट, स्वेटर र चप्पल उपलव्ध गराएको हो ।

६ वर्षदेखि शिक्षा र स्वास्थ्यलगायत सामुदायिक विकासका कार्यक्रम सञ्चालन गदै आएको संस्थाले त्यस क्षेत्रका १६ वटा सरकारी विद्यालय र ६ वटा विद्यालयबाहिर रहेका वालविकास केन्द्रका २ हजार ५ सय ९८ विद्यार्थीलाई नियमित दिवा खाजा तथा शैक्षिक गुणस्तर वृद्दिका लागि २४ जना शिक्षक सहयोगको ब्यवस्था गरेको छ ।

अक्टोवर २०१७ देखि ३ वर्ष सञ्चालन हुने कार्यक्रमअन्तर्गत् ५ वटा विद्यालय भवन निर्माण, बेमौसमी तरकारीका लागि टनेल, मौरीघार वितरण, २ जनालाई अनमि पढाउने, शैक्षिक सामग्री, फर्निचर, पुस्तकालय सहयोग, क्षमता अभिवृद्दि तालीम सञ्चालन गरिने साझेदार संस्थाका परियोजन व्यवस्थापक अनिल पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्