गुणस्तरका आधारमा होटलको वर्गीकरण हुने



दीपेन्द्रं थापा, काठमाडौं

सरकारले खाद्य स्वच्छताको आधारमा होटल रेस्टुरेन्ट वर्गीकरण गर्ने सम्बन्धी निर्देशिका जारी गरेको छ। कृषि विकास मन्त्रालयले होटल तथा रेस्टुरेन्टलाई स्वच्छता र उनीहरूको गुणस्तर हेरेर वर्गीकरण गर्ने निर्देशिका जारी गरेको हो।

निर्देशिका अनुसार होटल तथा रेस्टुरेन्टको गुणस्तरीय खाद्य स्वच्छताका आधारमा स्टार रेटिङ स्टिकर प्रदान गरिने भएको हो। नयाँ स्टिकरमा होटेलको अवस्था र स्तरअनुसार शून्यदेखि तीन तारा (एदेखि डी ग्रेड) र हरियो तथा पहेंलो रङ प्रयोग गरिएको छ। पहिलेको स्टिकरमा रङ, वृत र धर्कोमात्रै अंकित गरिएको थियो। होटल तथा रेस्टुरेन्टले गुणस्तर र स्वच्छतामा हेलचेक्र्याइँ गर्न थालेपछि त्यसको नियमनमा थप कडाई गर्दै यस्तो व्यवस्था गरिएको हो।

होटललाई खाद्य सुरक्षा र उपभोक्तालाई सचेत बनाउने उद्देश्यले निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ। खाद्य वस्तुमा स्वच्छता कायम गरी सर्वसाधारण उपभोक्ताको स्थास्थ्य तथा सुविधा कायम राख्न वाञ्छनीय भएकाले खाद्य नियमावली २०२७ को नियम ३३ ले दिएको अधिकारको प्रयोग गरी मन्त्रालयले उक्त निर्देशिका जारी गरेको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार होटल तथा रेस्टुरेन्टको ५० वटाभन्दा बढी मापदण्डको परीक्षण गरेर स्टिकर दिइनेछ। नेपाली र अंग्रेजी दुवै भाषामा प्रदान गरिने यस्तो स्टिकरबाट उपभोक्ताले होटेल र खानाको अवस्थाबारे जानकारी लिन सक्ने उहाँले जानकारी दिनुभयो।

गुणस्तरीय र स्वस्थ्यकर खाद्य पदार्थ, पार्किङ, शौचालय, खाद्य र पेय पदार्थसम्बन्धी कच्चा पदार्थको गुणस्तर, भान्छाघर, पानीको स्रोत, वेटरको व्यक्तिगत सरसफाइलगायत ५० वटा मापदण्डका आधारमा खाद्य विभागले शून्यदेखि ३ तारासम्मको रेटिङ स्टिकर प्रदान गर्ने वस्तीले बताउनुभयो । वस्तीले भन्नुभयो– ‘होटल स्तरीकरणको पहिलो चरणमा राजमार्गका होटलमा काम गरिने छ। होटललाई विभागले आफैंले स्टिकर प्रदान गर्छ। त्यस्तै होटलले आफैं स्टिकरको माग गर्न आए पनि स्टिकर वितरण गरिन्छ।’

यो व्यवस्थाअनुसार हरियो रङमा अति उत्तम (ए ग्रेड) भएको स्टिकरमा तीनवटा तारा अंकित गरिएको हुन्छ। त्यस्तै हरियो रङमै उत्तम (बी ग्रेड) भएको स्टिकरमा दुईवटा तारा, मध्यम (सी ग्रेड) भएको स्टिकरमा एक तारा र पहेंलो रङमा सन्तोषजनक (डी ग्रेड) भएको स्टिकरमा तारा अंकित नभएको स्टिकरको व्यवस्था गरिएको छ। त्यस्तै न्यूनतम मापदण्ड पूरा नगर्ने होटल तथा रेस्टुरेन्टलाई यस्तो तारे रेटिङ भएको स्टिकर उपलब्ध नगराइने व्यवस्था गरिएको छ।

यसअघि विभागले होटेल तथा रेस्टुरेन्टलाई खानाको गुणस्तरका आधारमा चार वर्गमा विभाजित गरी रंगीचंगी स्टिकर प्रदान गरिएको थियो। पहिले दिइएको स्टिकरमा होटलको अवस्थाका बारेमा पटकपटक अनुगमन गरी स्तरीकरणका आधारमा नवीकरण गर्ने व्यवस्था थिएन।
अब प्रदान गरिने स्टिकर प्राप्तकर्ता होटल तथा रेस्टुरेन्टको पटकपटक अनुगमन गरी हरेक आर्थिक वर्षमा नवीकरण गर्ने नीतिगत व्यवस्था गरिएको छ। यसका साथै स्टिकरका आधारमा होटेल व्यवसायीलाई प्रमाणपत्र दिइने व्यवस्था पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्