खोटाङमा स्थगित मतदान पुनः सुचारु



रामधन राई, खोटाङ ।
खोटाङको दिप्रुङ गाउँपालिका–७ टेम्मास्थित शान्ति माबि केन्द्रमा एकै ब्यक्तिले धेरै जनाको मतदान गरेको विषयमा उत्पन्न बिबादपछि स्थगित गरिएको मतदान पुनः सुचारु भएको छ । लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबीचमा भएको विवादले झडपको रुप लिएपछि स्थगित भएको मतदान प्रक्रिया दलीय सहमती जुटाएर सुचारु गरिएको हो ।

लोकतान्त्रिक पक्षका एक कार्यकर्ताले दुईभन्दा बढि मतदाताको मत खसाल्दिन लागेको विषयमा विवाद भएपछि वाम गठबन्धनका कार्यकर्ताले हात हालेपछि मतदान कार्य स्थगित गर्नु पर्ने अवस्था सिर्जना भएको पाईएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।

मतदाता उभिएकै लाईनमा हात हालाहाल भएपछि मतदान रोकिएको थियो । मतदानका क्रममा एकाघरका वा इच्छाएका व्यक्तीले बढिमा दुई जनाको मत खसाल्न पाउने सहमती भएकामा तीन जनाको हाल्ने प्रयासका क्रममा बिवाद सिर्जना भएको थियो ।

हाल जिल्लाका १ सय ३६ मतदानस्थलका १ सय ७९ वटै मतदान केन्द्रमा मतदान भइरहेको छ । घटनामा संलग्न वाम गठबन्धनका तीन जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो ।

यस्तै, रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माबि केन्द्रमा भएको विवाद पनि हल गरेर सहज तबरले मतदान सुचारु गराइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्