दृष्टिबिहीनलाई १ करोडको जग्गादान !



पोखर । पोखरा १४ चाउथे निवासी भीमसेन तिमिल्सिनाले १ करोड रुपैयाँ भन्दा बढी मूल्य पर्ने जग्गा दान गरेका छन् । दृष्टिबिहीन भई अपाङ्गता भएका तथा अनाथ दृष्टिबिहीनहरुका लागि उनले जग्गा सहयोग गरेका हुन् । पोखरा बिजयपुरमा रहेको ५ आना २ पैसा क्षेत्रफलको जग्गा शनिबार पोखरामा आयोजित एक कार्यक्रममा नेत्रहिन संघ कास्कीलाई हस्तान्तरण गरेका हुन् ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको दोस्रो क्याबिनेट मिटिङका अवसरमा उनले दृष्टिबिहीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले जग्गा सहयोग गरेका हुन् । तिमिल्सिनाले धर्मपत्नी बन्दना र छोरा बिराटको साथमा जग्गा दान गरेका हुन् । असाहाय बालबालिकाहरुको शिक्षा दिक्षा तथा उनीहरुलाई आत्मनिर्भर बनाउन जग्गा दान गरेको तिमिल्सिनाले बताए ।
‘जग्गा दान गर्न पाउँदा निकै खुसी लागेको छ,’ उनले भने । दृष्टिबिहीन बालबालिकाहरु तालिम लिदा तथा कुनै सिप सिक्दा भुईमा बसेको देखेर आफूहरु प्रभावित भएर उक्त सहयोग गर्ने निर्णय गरेको उनले बताए । लायन्स क्लब अफ पोखरा चौतारीका सदस्य समेत रहेका उनले लायन्सबाट सामाजिक काम गर्ने प्रेरणा मिलेको बताए ।
कास्की नेत्रहिन संघका अध्यक्ष लक्ष्मण सुवेदीले प्राप्त जग्गा सहयोगलाई सदुपयोग गरी आश्रयस्थल बनाउने बताए । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको समन्वयमा जग्गा हस्तान्तरण गरिएको हो । डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले संघलाई जग्गाको लालपूर्जा हस्तान्तरण गरेका छन् । ‘भीमसेन जस्ता सहयोगी मनहरुले समाजमा सकारात्मक परिवर्तन ल्याउन योगदान पु¥याएका छन्,’ आचार्यले भने ।

प्रतिक्रिया दिनुहोस्