पीडित बालबालिका संरक्षणका लागि श्रीमद्भागवत सप्ताह आयोजना गरिँदै



काठमाडौं, नेस ।
एक्सन फर क्यान्सर रिलिफ सोसाइटीले बालबालिकाको संरक्षणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । महायज्ञ आगामी कात्तिक २४ गतेदेखि माग १ गतेसम्म बानेश्वर–१० देवीनगरस्थित बी. जी. एस. एस अंग्रेजी आवासीय विद्यालयमा आयोजना गरिने संस्थाकी अध्यक्ष राधिका ढकालले जानकारी दिइन ।

विभिन्न जिल्लाका दैवी विपत्ती, बाढीपीडित तथा बालअधिकारबाट बञ्चित मुलुकभरका ३१ जना बालबालिकाको रेखदेख तथा शिक्षाका लागि आवश्यक सहयोग जुटाउनका लागि महायज्ञ आयोजना गर्न लागेको दाहाले बताइन ।

ती बालबालिकालाई अहिले बी. जी. एस. एस स्कूलमा अध्ययनको व्यवस्था मिलाइएको छ । संस्थाले बालबालिकाका लागि खान र बस्नको व्यवस्था समेत बेहोर्दै आएको छ ।

संस्थाले देवघाटस्थित लोकसेवा कल्याण प्रतिष्ठानसँग सहकार्य गरी महायज्ञ आयोजना गर्न लागेको हो । “उक्त प्रतिष्ठानले ५० जना बालिकाहरुलाई शिक्षा, स्वास्थ्य तथा सम्पूर्ण सुविधाहरु उपलब्ध गराउँदै आइरहेको छ । प्रतिष्ठानका बालिकाहरु पनि भागवत पढ्न जान्दछन्” दाहालले भनिन ।

एक्सन फर क्यान्सर रिलिफ संस्थाले विभिन्न दैवी विपत्ती भूकम्प पीडित, बाढी, पहिरो तथा अन्य कारणबाट प्रभावित बालबालिकाहरुलाई आवश्यक खान, बस्न तथा शिक्षाका लागि स्कूलको व्यवस्था समेत गर्दै आएको छ ।

बालबालिकालाई संस्कार र संस्कृति सहितको शिक्षा प्रदान गर्दै धार्मिक एवम् जातीय सद्भाव जागृत गराउँदै राष्ट्रप्रति नैतिक र उत्तरदायी बहन गर्ने नागरिक तयार गराउने उद्देश्यले यो कार्य गरेको दाहाललको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्