विदेश छाडेर गाउँमै सुन्तला नर्सरी



 

दुर्गाप्रसाद शर्मा, पर्वत

जलजला–१ बाँसखर्कका नरबहादुर पाइजा वैदेशिक रोजगारीका क्रममा मलेसिया र कतारमा पाँच वर्ष बिताए। ऋण खोजेर विदेशिएका उनले राम्रो कमाई गर्न सकेनन्। विदेशमा बगाउने पसिना गाउँमै गएर कमाउने ध्येयले फर्किएका उनले अहिले वार्षिक लाखौ रुपियाँ बचत गर्न सफल भएका छन्।

गाउँ फर्केर व्यावसायिक सुन्तलाखेतीमा तल्लिन उनले अहिले वार्षिक सात लाख बढी आम्दानी गरेका छन्। ‘पैसाकै लागि विदेश जानु अहिले मैले मुर्खताजस्तो सोच्ने गरेको छु उनले भने। घर फर्केर उनले धमाधम सुन्तलाका बिरुवा रोप्न थाले। अहिले उनको जमिनमा दुई सय वटा बोट सुन्तलाले उत्पादन दिन थालेका छन्। दुई सय ५० बिरुवा थप रोपेका छन्। यस वर्ष उनले साढे चार लाखको सुन्तला बिक्री गरे।

चार वर्षदेखि सुन्तला नर्सरीमा समेत सक्रिय पाइजाले यस वर्ष सुन्तला नर्सरीबाट तीन लाख ५० हजार रुपियाँ कमाई गरे। अघिल्लो वर्ष उनले सुन्तलाको बिरुवा बिक्री गरेर दुई लाख रुपियाँ बचत गरेका थिए। आगामी वर्ष सुन्तलाको नर्सरीबाट साढे चार लाख रुपियाँ कमाउने उद्देश्य लिएका उनले म्याग्दीको तिप्लाङ, दाना, राखु लगायत पर्वतका विभिन्न भागमा बिरुवा पुग्ने गरेको जानकारी दिए।

जिल्ला कृषि विकास कार्यालय बाट सुन्तला नर्सरीका लागि गत वर्ष ५० हजार रुपियाँ अनुदान प्राप्त गरेका पाइजाले सुन्तलाखेती र नर्सरी ब्यवसायलाई निरन्तरता दिने सोचमा छन्। ‘लगानी खेर जाला भन्ने नै छैन, कति मेहनत गर्न सकिन्छ भन्ने मात्रै हो,’ उनले भने।

उता जलजला–१ बाँसखर्ककै इन्द्रबहादुर पुन पनि बिदेशको कष्ट भोगेर आएका ब्यक्ति हुन। उनले विदेशमा सोचेअनुसार कमाई नभएपछि गाउँ फर्केर सुन्तला खेतीमा सक्रिय छन्। ‘घरमै बसेर राम्रो कमाई हुँदा निकै खुसी लाग्ने गरेको छ’ उनले भने।

चार सय वटा सुन्तलाका बोटबाट उत्पादन गर्ने उनले यसबर्ष छ लाख ५० हजारको बिक्री गरे। वर्षेनी उत्पादन बढ्दै जादा आम्दानी पनि बढ्ने गरेको उनले जानकारी दिए। पाइजा र पुनमात्रै होइन बासखर्कका अधिकांश परिवारले व्यावसायिक रूपमा सुन्तला खेती गर्ने गरेका छन्। बासखर्कमा बार्षिक रूपमा साढे तीन करोडको सुन्तला बिक्री हुने गरेको स्थानीय जगतबहादुर खत्रीले जानकारी दिए। ‘मेरो जमिनमा रहेको छ सय बोटबाट यसबर्ष आठ लाख रूपैयाँ आम्दानी गरे’ खत्रीले भने।

सुन्तला खेतीका लागि राम्रो हावापानी र राम्रो उत्पादन हुने भएपछि अधिकांश जमिनमा त्यहाँ सुन्तलाका बोट रोपिएको छ। बासखर्कका सुन्तला अन्य ठाउँका भन्दा स्वादिलो र मिठो हुने गरेको छ। बासखर्कमा विगतका दिनमा बाहिरबाट भदौ, असोजमै ठेकेदार आएर सुन्तलाको बोटमै ठेक्का लिने गरेपनि यसबर्षदेखि गाउँकै युवाहरू मिलेर खरिद गरी बोटमा पाकेपछि बिक्री गरेका छन्।

प्रतिक्रिया दिनुहोस्