साताको अन्त्यमा शेयर लगानीकर्तालाई राहत



नेपाल समाचारपत्र,काठमाडौं

भ्याटका विषयमा ब्रोकर र सरकारबीच सहमतिको प्रक्रिया शुरू, शेयर बजारमा राफसाफको अवधि घटाउने र अनलाइन प्रणालीमा जाने खबरसँगै यस साताको अन्त्यमा शेयर बजारका लगानीकर्ता उत्साहित बनेका छन्। साथै नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने चर्चाले पनि लगानीकर्ता उत्साहित हुँदा यस साता नेप्से परिसूचक अघिल्लो साताको अन्तिम दिनको तुलनामा १८ दशमलव ३ अंकले बढेको छ।

चालू आर्थिक वर्षको समाप्ति हुँदै गर्दा शेयर बजारले गत साता सुधारतर्फ अग्रसर भयो। पाँचै दिन कारोबार भएको बजारमा नेप्से परिसूचक १ हजार ५ सय ६३ दशमलव ८१ अंकबाट शुरु भएर १ हजार ५ सय ८२ दशमलव ११ को अंकमा आएर रोकियो। यस क्रममा लगानीकर्ताले करिब साढे २२ अर्ब रुपियाँ कमाए।

गत साता बजारमा १ सय ६२ कम्पनीका ७० लाख २३ हजार ६ सय ३० कित्ता शेयर २ अर्ब ६३ करोड ६५ लाख ४१ हजार रुपियाँमा कारोबार भए। कारोबार रकम अघिल्लो साताको तुलनामा ४२ प्रतिशत बढी हो। अघिल्लो साता बजारमा १ अर्ब ८५ करोड ५४ लाख ५७ हजार रुपियाँ बराबरको कारोबार भएको थियो। त्यस्तै नेप्से परिसूचक अघिल्लो साता ४ दशमलव ३२ अंकले बढेको थियो।

गत साता शेयर बजारमा पहिलो दिन नै भारी गिरावट आएको थियो। भ्याटको विवादपछि सुचारु भएको बजार आइतबार २१ दशमलव ९९ अंकले घटेको थियो। त्यस्तै बजार त्यसपछि बाजार क्रमशः सुधार हुँदै समग्रमा बढेको हो।

गत कारोबारमा आएका ८ समूहमध्ये ३ समुहका परिसूचकमा सुधार आए। सुधार आउनमध्ये सबैभन्दा धेरै बीमा समूहको परिसूचमा १ सय ९९दशमलव ६५ अंकको सुधार आयो। त्यस्तै होटल समूह, विकास बैंक र बैकिङ समूहका परिसूचकमा क्रमशः ३१ दशमलव १३, २५ दशमलव ९९ र १५ दशमलव ६५ अंकले बढे। अन्य समूह भने ४ दशमलव शून्य ५ अंकले बढ्यो।

 

गत साता कारोबारमा आएका उत्पादनमूलक, जलविद्युत् र बीमा समूहका परिसूचकमा भने गिरावट आए। ती समूह क्रमशः २२ दशमलव ७१, ६ दशमलव ९३ र ३ दशमलव ९९ अंकले घटे।
यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९ दशमलब १७ अङ्कले बढेर ३ सय ३६ दशमलब १ अङ्कमा आइपुगेको छ।
कारोबार रकमको आधारमा यस साता नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो।

कम्पनीका कूल २१ करोड १५ लाख २० हजार रुपियाँ बराबरको शेयर कारोबार भयो। त्यस्तै सानिमा बैंकको १२ करोड ६५ लाख ६० हजार रुपियाँँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १२ करोड ३४ लाख रुपियाँँ, नेपाल क्रेडिट एन्ड कमर्स बैंकको ७ करोड ८७ लाख २० रुपियाँँ र नेरुडे लघुवित्त विकास बैंकको ७ करोड ४१ लाख ४० हजार रुपियाँँ बराबरको शेयर कारोबार भएका थिए।

कारोबार भएको सेयर संख्याको आधारमा एनआईबीएल समृद्धि फन्ड– १ ले शिर्ष स्थान ओगटेको छ। यस अवधीमा कम्पनीका ११ लाख २० हजार कित्ता कित्ता शेयर कारोवार भए। त्यसैगरी कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीको कूल ३ हजार ७ सय ६९ वटा बारोबार भएका थिए।

गत साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचै दिन खुला रह्यो। गत हप्ता ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन।
साताभरि ५ कम्पनीका शेयर नेप्सेमा सूचीकृत भएका छन्।

नेप्सेमा महाकाली विकास बैंकको १ लाख ४८ हजार २ सय ९२ कित्ता हकप्रद, लक्ष्मी बैंकको २ करोड ५९ लाख ३ हजार ८ सय ७३ कित्ता हकप्रद, एनआईसी एसिया बंैकको ८७ लाख २९ हजार ४ सय ७५ कित्ता हकप्रद शेयर तथा छ्याङ्दी हाइड्रोपावरको २१ लाख ६० हजार कित्ता साधारण शेयर सूचीकृत भएका छन्। त्यस्तै लक्ष्मी इक्विटी फन्डका १ करोड २५ लाख कित्ता इकाइ पनि नेप्सेमा सूचिकृत भए।

प्रतिक्रिया दिनुहोस्