सक्रिय पत्रकारिता छोडेर उपमेयरको उम्मेदवारी

0
Shares

काभ्रे, (नेस)
बीस वर्षपछि देशमा हुन लागेको स्थानीय चुनावमा यतिखेर नागरिकको चासो धेरै नै बढेको छ। त्यससँगै युवा जमात पनि सक्रियरूपमा खुलेरै राजनीतिमा लाग्न थालेका छन्। यसै क्रममा विभिन्न पेशामा आफ्नो छवि बनाइसकेर पनि उम्मेदवारी दिनेहरू बढ्न थालेका छन्। यसरी उम्मेदवारी दिनेमध्ये शिक्षकहरू धेरै देखिएका भए पनि जिल्लाको मण्डनदेउपुर नगरपालिकामा भने विगत ७ वर्षदेखि पत्रकारितामा सक्रिय रहेर नाम कमाएकी राधिका ढकालले उम्मेदवारी दिएकी छिन्।

आर्थिक राष्ट्रिय दैनिक कारोबारमा निकै लामो समयसम्म काम गरेर पत्रकारिताको अनुभव लिएकी उनले यसपटक नेपाली कांग्रेसका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी हुन्। पत्रकारितामा नाम कमाएको मान्छे एक्कासि राजनीतिमा लागेपछि यति बेला यस क्षेत्रमा उनको चर्चा निकै नै चलेको छ।

मण्डनदेउपुर नगरपालिका–५ गैह्रीबिसौना स्थायी घर भए पनि उनी राजधानीमै बसेर सक्रियरूपमा पत्रकारिता गरिरहेकी थिइन्। अबको नेतृत्व युवा पुस्तामा जानुपर्छ भन्ने मान्यता बोकेर आफू राजनीतिमा छिरेको उनले बताएकी छिन्। ‘समाज सेवा गर्न र देश विकास गर्न पत्रकारिता र राजनीति जुन बाटोबाट हिँडे पनि पुग्ने ठाउँ भनेको एउटै हो।’ उनी भन्छिन्– ‘राजनीति देशलाई डोहोर्याउने मूल नीति हो। यसमा आकर्षण नै छैनभन्दा हामी गलत हुन्छौं। हामी जुन क्षेत्रमा लाग्छौं, त्यसमा इमान्दारिता देखाउन आवश्यक छ।’

पत्रकारिता विषयमै मास्टर डिग्री गरिसकेकी राधिकाले यसअघि राजनीतिमा लाग्छु भन्नेतिर खासै सोचेकी थिइनन्। तर, अहिलेको आवश्यकता भनेकै युवामा नेतृत्व जानु हो भन्ने लागेर उनी यसतर्फ लागेकी हुन्। उनको विचारलाई सम्मान गर्दै पार्टीले पनि उपमेयरको टिकट दियो। ‘चुनावी मैदानमा गएपछि हार जित हुनु स्वभाविक नै हो। भोलि नतिजा जे आउँला तर पनि मेरो यो निर्णयलाई मतदाताले राजनीतिमार्फत् समाज सेवा गर्ने मौकाको रूपमा लिनु हुनेछ भन्ने मेरो अपेक्षा छ’ –उनले भनिन्। यस नगरपालिकाका युवा पुस्ताले उनको उम्मेदवारीलाई निकै चासोको रूपमा लिएका छन्। राजनीतिमा लागे पनि आफ्नो रुचिको पेशा पत्रकारितालाई चटक्कै नछोड्ने ढकालले बताएकी छिन्।

Skip This