पानीमा हिलाम्मे, घाममा धुलाम्मे



सुरेश तामाङ, काठमाडौं
निर्माण थालेको १६ महिना बितिसक्दा पनि कलंकी–नागढुंगा सडकखण्डको कामले तीव्रता पाएको छैन। सडक विस्तारको क्रममा सर्वाेच्च अदालतको स्टे अर्डर दिनुका साथै स्थानीयको विरोध कायमै रहेकाले सडकको कामले गति लिन नसकेको हो।

अहिले यो सडकखण्डको कामले त्यति गति लिन सकेको छैन, काठमाडौं उपत्यका सडक विस्तार योजनाका प्रमुख दीपक केसीले भन्नुभयो– ‘सर्वाेच्चको स्टे अर्डर र स्थानीय बासिन्दाको अवरोधका कारण काम हुन सकेको छैन। अवरोध नभएको खण्डमा काम अघि बढ्छ।’ यस सडकखण्डमा निर्माण व्यवसायीहरूले गत असारमा सम्झौता गरेर सर्बे सकाई असोजदेखि काममा खटिएका छन्। निर्माण व्यवसायी काममा खटेको १६ महिना बितिसक्दा पनि विभिन्न कारणले गर्दा कामको गति सुस्त छ।

२ वर्षभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि सडक विस्तारका बेला देखिएका विभिन्न अवरोधका कारण कहिलेसम्म सडक विस्तारको काम सम्पन्न हुन्छ भन्ने प्रश्नको जवाफ कुनै निकायले दिन सकेको छैन। यस सडकखण्डको यातायात अवस्था अस्तव्यस्त बनेको छ।

यस खण्डमा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने बाटोमै यात्रा गर्न सर्वसाधारण बाध्य छन्। साँघुरा सडक, ठूल्ठूला सवारीसाधन गुड्ने, सवारीको चाप धेरै, सडक विस्तार गर्दा भत्काइएका संरचनाहरू नहटाइदिने, सडक विस्तारका लागि सडकमै थुपारिएका कच्चा पदार्थहरूले गर्दा यस सडक खण्डमा अत्यधिक जाम हुने गरेको छ।

यस सडक खण्डलाई काठमाडौं उपत्यकामा भित्रिने र यहाँबाट बाहिरिने प्रमुख मार्गको रूपमा लिइन्छ। निर्माण कार्यमा ढिलाई हुँदा २४सै घण्टाजसो व्यस्त रहने सडक खण्डमा यात्रा गर्ने यात्रुहरू कष्टकर जीवन व्यतित गर्न बाध्य छन्। अत्यधिक जामकै कारण सर्वसाधारण कलंकी–नागढुंगा सडकखण्ड (९ किमि) आधा घण्टामा पार गर्नुपर्नेमा ५÷७ घण्टासम्म जाममा बस्न बाध्य छन्।

जामले गर्दा यात्रु समयमै आफ्नो गन्तव्यमा नपुग्ने, जसले गर्दा यात्रुमा तनाव पैदा हुने र धूलो–धुँवाका कारण यस सडकखण्डमा यात्रा गर्ने यात्रुहरूमा स्वास्थ्य समस्यासमेत देखिएको छ। जामकै कारण यात्रुले कहिलेसम्म सास्ती सहनुपर्ने हो भन्ने अझैसम्म निश्चित छैन। यस सडकखण्डअन्तर्गतको थानकोट नाकाबाट दैनिक ३५ देखि ३७ सय सवारी भित्रिने र यहाँबाट ३८ देखि ४ हजार सवारीसाधन बाहिरिने गरेको प्रहरीसँग तथ्यांक छ।

१ अर्ब ५२ करोड अनुमानित बजेटमा बन्न लागेको त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकखण्ड (१२ किमि) अन्तर्गत ४ वटा प्याकेजमा निर्माण व्यवसायीहरूले ठेक्का लिई काम गरिरहेको आयोजनाले जनाएको छ। आयोजनाले यस सडकखण्डमा हालसम्म ६० करोड खर्च गरिसकेको छ।

काठमाडौं भित्रिने र बाहिरिने सवारीको चाप यो सडकखण्डमा धेरै रहेको र सडकको संरचना चौडा गर्नुपर्ने भएकाले दुई लेनमा कायम रहेको सडकलाई ४ लेनको रूपमा विस्तार गर्न लागिएको हो।

अवरोध आएका क्षेत्रहरू कालिमाटी, सतुंगल र बलम्बुनजिकको ढुंगेअड्डाबाहेक खाली ठाउँमा सडक विस्तारको काम भइरहेको आयोजनाले जनाएको छ। समग्रमा परियोजनाको काम २५–३० प्रतिशत सकिएको आयोजनाका इन्जिनियर विश्वविजयलाल श्रेष्ठले जानकारी दिनुभयो। अवरोध आएको बाहेकका सडकखण्डमा व्यापक काम भइरहेको जनाउँदै उहाँले हेमपाइप राख्ने काम र पर्खाल लगाउने काम लगभग सकिएको बताउनुभयो।
आयोजनाले हेमपाइप र पर्खाल लगाइसकेका सडकखण्डमा फुटपथका लागि सडकपेटीसमेत बनाइसकेको जनाउँदै घर भत्काइसकेको र अवरोध नभएको सडकखण्डमा यस वर्ष ५–६ किमि कालोपत्रे गर्ने लक्ष्य रहेको आयोजनाका इन्जिनियर श्रेष्ठले बताउनुभयो।

आयोजनाले जनाएअनुसार त्रिपुरेश्वर, कलंकी र नागढुंगा सडकखण्डको सडक विस्तार कार्यमा कालिमाटी, सतुंगल र बलम्बुनजिकको ढुंगेअड्डामा अवरोध छ। सर्वाेच्चको स्टे अर्डर र स्थानीयको अवरोध नभएको क्षेत्रमा भने आयोजनाले काम गरिरहेको छ। हालसम्म आयोजनाले १ किमि सडक खण्डमा कालोपत्रे गरिसकेको छ भने अवरोध नआएको ठाउँमा सब बेसहरू राख्ने क्रम जारी छ। यस्तै, स्टे अर्डर, स्थानीयको अवरोधलगायतले गबर्दा साढे ४ किमि सडकखण्डको काम प्रभावित बनेको छ।

कुल १२ दशमलव ३० किमिको त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक आगामी २ वर्षभित्र निर्माण सकिने गरी काम अगाडि बढाएको आयोजनाले हाल ७ दशमलव ५ मिटर फराकिलो दुई लेनको कलंकी–नागढुंगा सडक चार लेनसहित २२ मिटर फराकिलो बनाउन लागिएको छ भने त्रिपुरेश्वर–कलंकी ६ लेनको हुनेछ। चार लेनको उक्त सडकको बीचमा दुई मिटर फराकिलो ‘ग्रिनबेल्ट’ (हरियाली स्थान) हुनेछ। सडकको दुवैतर्फ १ दशमलव २ मिटर फराकिलो साइकल लेन हुनेछ।

अपांगमैत्री फराकिलो फुटपाथसमेत हुने जनाइएको छ। सडकका प्रत्येक लेन अन्य स्थानका भन्दा केही फराक अर्थात् चार मिटरका हुनेछन्।

आयोजना प्रमुख श्रेष्ठका अनुसार फुटपाथका बीचमा दृष्टिविहीनहरूलाई हिँड्न सहयोग हुने खालको रबर इन्डिकेटरसमेत राखिनेछ।

प्रतिक्रिया दिनुहोस्