राजनीतिमा मोदीको प्रभावकारी भूमिका



श्रीमन नारायण
दक्षिणी छिमेकी राष्ट्र भारतका प्रमुख प्रान्तहरूमा भएको निर्वाचनको परिणामले प्रधानमन्त्री नरेन्द्र मोदीको सत्ताधारी भारतीय जनता पार्टीलाई ठूलो एवं महत्वपूर्ण सफलता दिलाएको छ। सत्ताधारी भारतीय जनता पार्टीले प्राप्त गरेको यस चुनावी सफलताको श्रेय भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व क्षमता, कार्यशैली, अथक् परिश्रम तथा समर्पणलाई जान्छ। निर्वाचन हुनुभन्दा दुई महिनाअघि मात्र उनले देशमा लागू गरेको नोटबन्दीजस्तो कठोर निर्णयका कारण भारतीय मतदाता भरसक मोदीप्रति आक्रोशमा थिए भन्ने आमबुझाइ पनि निरर्थक साबित भएको छ। यस निर्वाचन परिणामले एकातिर प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको वर्तमानको भाजपा सरकारको झन्डै तीन वर्षको कार्यप्रति भारतीय जनताले समर्थन मात्रै प्रकट गरेका छैनन् अपितु आगामी २ वर्षपछि हुने लोकसभाको निर्वाचनमा पनि भारतीय जनता पार्टीले नै सफलता पाउने सम्भावनालाई संकेत गरेको मान्न सकिन्छ। यस चुनावी सफलताबारे भारतका समाचारपत्रहरू मात्रै होइन, अपितु विश्वका प्रायः सबैजसो महत्वपूर्ण समाचारपत्रहरूले मोदीको प्रशंसा गरेको पाइन्छ।

भारतको सबैभन्दा ठूलो प्रान्त उत्तर प्रदेशमा भाजपाले ठूलो सफलता पाउनु प्रधानमन्त्री नरेन्द्र मोदीको कुशल नेतृत्व क्षमताको परिचायक हो। त्यहाँको ४०३ सदस्यीय प्रान्तीय संसद्मा भारतीय जनता पार्टी एक्लैले ३१२ सिट जित्नु सामान्य सफलता होइन। १३ वटा स्थानमा भाजपाको सहयोगी दलले चुनाव जितेको छ। उत्तर प्रदेशको यस सफलताले प्रधानमन्त्री नरेन्द्र मोदीलाई २ वर्षपछि सन् २०१९ मा हुने लोकसभाको निर्वाचनमा पनि चुनाव सफलता दिलाउने मार्गप्रशस्त गरेको छ। किनभने भारतको ५४३ सदस्यीय लोकसभामा ८० वटा सिट उत्तर प्रदेशमै छ। तीन वर्षअघि भएको निर्वाचनमा भाजपाले ७३ सिट जितेको थियो। उत्तर प्रदेशको चुनावी सफलताले ६ महिनाभित्र भारतमा हुने राष्ट्रपतिको निर्वाचनमा पनि भारतीय जनता पार्टी समर्थित उम्मेदवारले नै चुनावी सफलता पाउने निश्चित छ। सत्ताधारी भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणी सम्भवतः राष्ट्रपतिको उम्मेदवार हुनेछन् र भरसक उनको जित पनि निश्चितजस्तै देखिन्छ। उत्तर प्रदेशको चुनाव परिणामले अब भाजपालाई देशको संसद्को सबैभन्दा माथिल्लो सदन राज्यसभामा पनि बहुमत प्राप्त हुने निश्चित छ। राज्यसभामा पनि बहुमत प्राप्त गर्नुको अर्थ नरेन्द्र मोदीको सरकारले अब विनाकुनै अवरोध आफ्नो एजेन्डालाई लागू गर्न पाउनु हो। र, आफूले चाहेअनुसारको नीति बनाउन पाउनु हो।

हाम्रो देशको पश्चिमी सिमानासँग जोडिएको उत्तराखण्डमा पनि भाजपाले नै ठूलो सफलता हासिल गरेको छ। ७० सदस्यीय विधानसभामा भाजपाले ५७ सिट जित्नुको अर्थ झन्डै तीन चौथाइ सिटमाथि कब्जा जमाउनु हो। नेपालको पश्चिमी तराईको सीमावर्ती उत्तर प्रदेशमा सन्त पृष्ठभूमिका आदित्यनाथ योगीले मुख्यमन्त्रीको पदमा निर्वाचित हुनु नेपालको निम्ति खुशीको कुरा हो। किनभने योगी गोरखपुरको चर्चित गोरखनाथ मन्दिरका प्रमुख सन्त हुन्। गोरखनाथ मन्दिरसँग नेपालको पुरानो घनिष्ट सम्बन्ध रही आएको छ। मणिपुर तथा पर्यटकीय स्थल गोवामा पनि भाजपाले आफ्ना सहयोगीहरूसहित साझा सरकार बनाउन सफलता हासिल गरेको छ। भाजपाको सफलता र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व क्षमताबाट अब त्यहाँका विपक्षीहरू पनि निराश देखिएका छन्। मोदीका कट्टर आलोचक मानिएका कांग्रेस नेता मणिशंकर अयरले सबै विपक्षीहरू मिलेर चुनाव लडेमा मात्रै मोदीलाई हराउन सक्ने टिप्पणी गरेका छन्। यस सफलताले मोदीलाई भारतमा मात्रै होइन विश्वस्तरमा नै लोकप्रिय बनाइदिएको छ। विदेशी समाचार माध्यमहरूले पनि मोदीको नेतृत्व क्षमताको निकै प्रशंसा गरेका छन्।

चिनियाँ समाचारपत्र ग्लोबल टाइम्सले यस चुनावी सफलताले सन् २०१९ मा हुने लोकसभाको निर्वाचनमा पनि मोदीलाई नै सफलता मिल्ने सम्भावना व्यक्त गरेको छ। रिस्क लिनबाट नडराउने तथा साहसी निर्णय लिने नेताको रूपमा मोदी साबित भएको टिप्पणी गर्दै समाचारपत्रले अन्तर्राष्ट्रिय स्तरमा भारतको भूमिका र उपस्थितिलाई सशक्त बनाउने मोदीको नीति रहेको विश्लेषण गरेको छ। त्यसै गरी द गार्जियनले पनि मोदीको व्यक्तित्व तथा विश्वसनीयतालाई यसको कारण मान्दै भ्रष्टाचार विरोधी अभियान तथा अथक् परिश्रमका कारण मोदीले सन् २०१९ को चुनाव पनि जित्ने अनुमान गरेको छ। जाति र धर्मको ठाउँमा जनताले विकासको मुद्दालाई प्राथमिकता दिएको विश्लेषण पत्रिकाले गरेको छ। द वाल स्ट्रिट जर्नलले भने यस चुनावी सफलताले कालो धन तथा भ्रष्टाचारको विरुद्धमा मोदी सरकारको अभियानले निरन्तरता पाउने टिप्पणी गरेको छ।

पाकिस्तानी पत्रिका डनले पनि मोदीको नेतृत्व क्षमताको प्रशंसा गर्दै तीन तलाकको मुद्दामा भाजपाको प्रस्ट नीतिका कारण भारतीय मुस्लिम महिलाले पनि भाजपालाई मत दिएको हुन सक्ने अनुमान गरेको छ। द वासिङटन पोस्ट, द न्युयोर्क टाइम्स, रोएटर, टेलिग्राफ, सीएनएन तथा अल जजिरा एवं बीबीसीले पनि सोही आशयका समाचारहरू प्रकाशित गरेका छन्।

छिमेकी राष्ट्र भारतसँग हाम्रो बहुआयामिक सम्बन्ध रही आएको छ। भारतका प्रधानमन्त्री मोदी पनि नेपालसँग सुमधुर सम्बन्ध रहोस् भन्ने चाहन्छन्। निकै कम समयमा उनले दुईपटक नेपालको भ्रमण गर्नु यसैको संकेत हो। आगामी केही दशक भारतीय राजनीतिमा मोदीको भूमिका प्रभावकारी रहने निश्चित छ।

प्रतिक्रिया दिनुहोस्